नरपानीको चुनढुङ्गा उत्खनन र दोस्रो संविधानसभा निर्वाचनमा रकम असुल: क्रान्तीका भगौडाहरु आफ्नो पार्टिका नेताको चरित्र हत्यामा उद्यत रहेको माओवादी आरोप

शोभाखर पन्थी 
सन्धिखर्क, अर्घाखाँची पौष ८  । नेकपा माओवादीे क्रान्तीका भगौडाहरु आफ्नो पार्टिका नेताहरुको चरित्र हत्यामा क्रियाशिल रहेको भन्दै सचेत रहन आम जनतालाई आग्रह गरेको छ । माओवादीले आज सन्धिखर्कमा पत्रकार सम्मेलनको आयोजना गरी नरपानीको चुनढुङ्गा उत्खनन र कथित दोस्रो संविधानसभा निर्वाचनमा आफ्नो पार्टिका नेताहरुले रकम असुलेको भनी आफुलाई बैद्य माओवादी बताउने केही व्यक्तिहरुले कपोकल्पित र झुट्टा आरोप लगाएर क्रान्तिकारीहरु लाई कमजोर पार्ने कुटिल षडयन्त्र गरेको भन्दै आपत्ती प्रकट गरेको छ । 
कार्यक्रममा मन्तव्य राख्दै नेकपा माओवादीका केन्द्रिय सदस्य भेषराज भुसालले चुनढुङ्गा उत्खननका कारण नरपानी र आसपासका क्षेत्रमा वातावरणीय तथा पर्यावरणीय क्षति हुनुका साथै पिउने पानीका मुहान सुकी हजारौ जनता विस्थापित हुने खतरा बढेको भन्दै, आफ्नो पार्टिले चुनढुङ्गा उत्खनन विरुद्ध संघर्ष गर्दै जनताको न्यायपूर्ण संघर्षमा दृढतापूर्वक समर्थन गर्दै आएको यथार्थतालाई बंगाएर जनताको आन्दोलनलाई कमजोर बनाउन चुनढुङ्गा उत्खननमा विप्लप र भेषराजले रकम असुले भनी गलत प्रचार वाजी गरिएको प्रति आपत्ति प्रकट गर्नु भयो । भुसालले नियोजित रुपमा कपोकल्पित र भ्रामक कुरा गरेर जनतालाई दिग्भ्रमित पार्नेहरुका विरुद्ध सचेत रहन आम जनतालाई आग्रह गर्दै झुटको खेती गर्दै हिड्नेहरु जनताबाट तिरस्कृत हुँदै जाने बताउनु भयो । चुनढुङ्गा उत्खनन सुचारु गराउनका निम्ति कम्पनीबाट आफुहरुले १ पैसा पनि आर्थिक सहयोग नलिएको बताउँदै पैसा लिएको प्रमाणित भए राजनैतिक जीवन त्याग गरी जस्तो सुकै कडा कार्बाहीको निम्ति आफु तयार हुने भन्दै पैसा बुझे भन्नेहरुलाई रकम बुझेको प्रमाणित गर्न उहाँले चुनौती दिनु भयो । 
माओवादीले आफ्नो पार्टि र नेताहरुका विरुद्धमा अनर्गल प्रचार वाजी गरेर रकम कुम्लाउने षडयन्त्र गरिएको भन्दै वास्तविकता बुझेर दोषिलाई जनताले कारबाही गर्ने चेतावनी समेत दिएको  छ । कथित दोस्रो संविधान सभा निर्वाचनमा आफ्नो पार्टिले  सक्रिय बहिस्कारको नीति अवलम्बन गरी संघर्षमा उत्रिएको स्मरण गराउँदै निर्वाचनमा पार्टिका नेताहरुले रकम असुले भन्नु हास्यस्पद र लाचारी कुरामात्र भएको बताएको छ । पत्रकार सम्मेलनमा पार्टिले क्रान्ति शुरु गर्नुको कुनै विकल्प नभएको बताउँदै क्रान्तिलाई कमजोर पार्ने षडयन्त्र गर्नेहरुका विरुद्ध सचेत रहन आम कार्यकर्ता र जनतालाई समेत आग्रह गरेको जनाईएको छ । 
कार्यक्रममा मन्तव्य राख्दै नेकपा माओवादीका जिल्ला सह-सेक्रेटरी पिताम्बर पोख्रेलले क्रान्तिबाट भाग्नेहरुले जनतालाई दिग्भ्रमित पार्न व्यक्तिगत चरित्र हत्यामा लागि पैसाको कुरा उठाएको भन्दै भ्रममा नपर्न सबै पक्षलाई आग्रह गर्नु भएको छ । यसैविच नेकपा माओवादी अर्घाखाँची जिल्ला सचिवालयको आज सम्पन्न बैठकले आफ्ना नेताहरुको चरित्र हत्या गर्ने उद्देश्यले रकम असुले भनी लगाइएको आरोपको भ्रत्सना गरेको छ । 

अन्य समाचारहरु