काठमाडौं, पुस १२ – नेपाल उद्योग वाणिज्य महासंघले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको मोर्चालाई आन्दोलनका कायक्रम फिर्ता लिन आग्रह गरेको छ ।
महासंघका अध्यक्ष प्रदिपजंग पाण्डे नेतृत्वको टोलीले बिहान लाजिम्पाटमा मोर्चाका संयोजक समेत रहेका एमाओवादी अध्यक्ष दाहाललाई भेटेर बन्द हड्ताल सधैका लागि बन्द गर्न आग्रह गरेको हो । महासंघले शान्तिपूर्ण तरिकाबाट आन्दोलनको कार्यक्रम गर्न दाहालको ध्यानाकर्षण गराएको थियो । जवाफमा अध्यक्ष दाहालले आन्दोलन रहरले नभएर बाध्य भएर गर्नुपरेको बताएका थिए ।
दाहाल संयोजक रहेको ३० दलीय मोर्चाले यही पुष १९ गतेदेखि माघ ५ गतेसम्म आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
संविधान नबनेका कारण मुलुकको सबै क्षेत्र तहसनहस भएको भन्दै महासंघले लगानी सुरक्षित गर्ने वाताबरण बनाइदिन पनि दाहालसँग आग्रह गरेको थियो । EKANTIPUR