सन्धिखर्कको राष्ट्रपति रनिङ्ग शिल्डमा नाच्दै गाउँदै विजय-र्याली

शोभाखर पन्थी 



सन्धिखर्क, अर्घाखाँची पौष १४ । लगातार तस्रो पटकको जीतसँगै सिद्धार्थ उच्च मावि हंसपुरले राष्ट्रपति रनिङ्ग शिल्डमा आफ्नो कब्जा जमाएको छ । अर्घाखाँची जिल्लामा सञ्चालित चौथो, पाँचौ र छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गरी सिद्धार्थ उच्च मावि हंसपुर ३ लाख पुरस्कार सहित राष्ट्रपति रनिङ्ग शिल्ड आफ्नो बनाउन सफल बनेको हो । 

 



तस्बिर: शोभाखर पन्थी, अर्घाखाँचीडट्कम्

 

सिद्धार्थ उच्च माविलाई एक समारोहका बीच सम्मान गर्दै रनिङ्ग शिल्ड र पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा मन्तव्य राख्ने वत्ताहरुले सिद्धार्थ उमाविले खेलकुदको विकासमा पु-याएको योगदानको मूक्तकण्ठले प्रशंसा गरेका थिए । खेलकुदको विकासगर्न सकेमा स्वास्थ्य, अनुशासन, ईज्जत-प्रतिष्ठा, सामाजिक सद्भाव र मित्रताको भावना जागृत हुने उनीहरुको भनाई थियो । 



यसरी मन्तव्य राख्नेहरुमा स्थानीय विकास अधिकारी हरी प्रसाद ज्ञवाली, प्रहरी नायव उपरिक्षक दिपेन्द्र जि.सी., जिल्ला शिक्षा अधिकारी धनसिंह धामी, नेपाली कांग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल, एमाले नेता जनार्दन खनाल, एमाओवादीका जिल्ला अध्यक्ष चन्द्र बहादुर खड्का उज्ज्वल लगायत हुनुहुन्थ्यो । 

 



तस्बिर: शोभाखर पन्थी, अर्घाखाँचीडट्कम्

 

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हरी प्रसाद भट्टराईको अध्यक्षता र शिव बेल्वासेको सञ्चालनमा सम्पन्न कार्यक्रममा खेलकुद विकास समितिका पुर्व जिल्ला अध्यक्ष द्वय मोतीजंग रायमाझी र रुक बहादुर पछाईलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 



यसैबीच लगातार ३ वर्षको जीतसँगै राष्ट्रपति रनिङ्ग शिल्डमा आफ्नो विजय कायम गर्न सफल सिद्धार्थ उमावि हंसपुरले आज सदरमुकाम सन्धिखर्कमा विशाल विजय-याली सम्पन्न गरेको छ । 

 



तस्बिर: शोभाखर पन्थी, अर्घाखाँचीडट्कम्

 

विद्यालयले रनिङ्ग शिल्डमा विजय हासिल गरेसँगै बाजा गाजा सहित सदरमुकाममा आएका हंसपुरका बासिन्दाले झ्याई-झ्याईती बाजाको तालमा छमछमी नाच्दै गाउँदै साँस्कृतिक माहौल श्रृजना गरेर सन्धिखर्क र चुत्रावेशि बजारमा विजय -याली सम्पन्न गरेका छन् । 



सदरमुकाम सन्धिखर्क देखि करिव ५ कोषटाढा हंसपुरका बासिन्दा आपसमा खुसीयाली साट्न र खेलाडीको मनोवल बढाउन भन्दै आईतवार विहानै सन्धिखर्क आईपुगेका थिए । एक दशक पहिले सम्म जिल्लाको निक्कै विकट मानिने हंसपुर गाविसमा केही वर्ष यता जिल्लामै उदाहरणिय काम गरी नमुनाउन्मुख गाविस बन्दैछ । गाविसका प्रत्येक वार्ड-वार्डमा मोटर बाटो पुगेको छ भने निमार्णधिन सालझण्डी-ढोरपाटन सडक, पोखरा-सुर्खेत सडक तथा हंसपुर-तम्घास सडक संजालले गाविसलाई सडक सम्पन्न गाविस बनाउँदै छन् । पञ्चायतकालमा कालो पाकिस्तानका रुपमा तिरस्कृत हंसपुर गाविसमा हाल एउटा उमावि, दई वटा मावि, ३ वटा निमावि र ६ वटा प्राथामिक विद्यालय रहेका छन् । 



सिद्धार्थ उमाविको जीतलाई सीङ्गो हंसपुर गाविसले नै आफ्नो जीतको रुपमा लिएको छ । विजयमा खुसी मनाउन छिमेकी विद्यालय, ईलाका तथा गाविस स्तरका सरकारी कार्यालयका कर्मचारी राजनीतिक दल, संघसंस्थाका प्रतिनिधि तथा स्थानीय बासिन्दा आफ्नै खर्चमा सन्धिखर्क आएका थिए । 

 


तस्बिर: शोभाखर पन्थी, अर्घाखाँचीडट्कम्

२०१६ सालमा प्राथामिक विद्यालयको रुपमा स्थापना भएको सिद्धार्थमा २०२४ सालमा निम्न माध्यमिक विद्यालय, २०३४ सालमा माध्यमिक र २०६३ सालमा उमाविको स्थापना भएको थियो । अर्घाखाँचीको हंसपुर, गोखुङ्ग, बाँगी, खनदह तथा गुल्मी तथा प्युठानका केही गाविसको शैक्षिक धरोहरको केन्द्रका रुपमा रहेको यस विद्यालयका पुर्व विद्यार्थी शंकर प्रसाद अधिकारी, खुमराज चुँदाली लगायतका व्यक्तिहरु मन्त्रालयको सचिव समेत भैसक्नु भएको छ । 



यसैबीच राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीतामा जनज्योति उमावि द्धितिय र लापे मावि लापे जलुकेले तृतिय स्थान हासिल गरेका छन् । 

अन्य समाचारहरु