चार दलको छलफल निष्कर्षविहीन, प्रक्रियाबाटै संविधान जारी हुने संकेत

काठमाडौं  । संविधानका विवादित मुद्दामा सहमति खोज्ने कि प्रक्रियाबाटै तोकिएको समयसीमा माघ ८ मा संविधान जारी गर्ने भन्ने विषयमा मुख्य चार शक्तिका नेताबीच सोमबार भएको छलफल त्यत्तिकै टुंग्गिएको छ ।
बालुवाटारमा भएको छलफलमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी ओली, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदार सहभागी थिए ।
छलफल निष्कर्षमा नपुगे पनि सकारात्मक रहेको मधेसी मोर्चाका संयोजक गच्छदारले जानकारी दिए । आगामी बुधबार शीर्ष तहमै फेरि छलफल गरिने पनि उनले सन्चारकर्मीसँग बताए ।
यसअघि दोस्रो तहका नेताहरुलाई पनि राखेर सोमबार बिहानै एकसरो छलफल भएको थियो । उनीहरु बालुवाटारबाट बाहिरिएपछि शीर्ष नेतामात्र बसेका थिए ।
ठूलो समूहमा भएको छलफलपछि एमाले नेता झलनाथ खनालले अब दलहरुसामु प्रक्रियामा गएर संविधान जारी गर्नुको विकल्प नदेखिएको प्रष्ट्याए ।
यसअघि, आइतबार (हिजाो) चार दलीय कार्यदलले संविधानका विवादित मुद्दामा कुरा मिलाउन नसकिएको भन्दै शीर्ष नेतालाई नै सहमतिको जिम्मेवारी लिन सिफारिस गरेको थियो । दलहरुले कहिले कार्यदल त कहिले शीर्ष नेतालाई सहमतिको जिम्मेवारी दिने श्रृंखला जारी रहे पनि कुरा जहाँको त्यही अड्किएको छ ।
एकीकृत माओवादी र मधेसी दलहरु टसकामस नभएपछि सहमतिको सम्भावना टर्दै गएको छ । दलहरुबीच नयाँ संविधानमा कस्तो संघीयता, शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणालीको व्यवस्था गर्ने भन्नेमा वर्षौदेखि मतान्तर रही आएको छ । 
IMAGEKHABAR