पर्सा , पुस १५ – शहरी विकास मन्त्री नारायण खडकाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई द्वैध चरित्र त्याग्न सुझाव दिएका छन् ।
प्रेस युनियनले मंगलबार वीरगंजमा आयोजना गरेको पत्रकार घेटघाटमा उनले वार्तासँगै आन्दोलन जारी राख्ने पछिल्लो अभिव्यक्तिले उनको द्वैध चरित्र देखाएको आरोप लगाए ।
मन्त्री खडकाले जुनसुकै हालतमा माघ ८ मा संविधान जारी हुनु पर्ने बताउँदै जनताको नजरमा दलहरु र तिनका नेता विश्वसनीय र उत्तरदायी छन् भनि देखाउने बेला आएको बताए । काँग्रेस र एमालेको चाहना सहमति र त्यो नभए प्रकृयामा संविधान जारी गर्ने रहेको बताउँदै मन्त्री खडकाले अब दलहरुले समय सीमा हेरेर दु्रत गतिमा अघि बढनु पर्ने बताए ।
शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणाली तथा संघियताको बिषयमा मात्र हाल दलहरुबीच विमती रहेको र त्यसलाई छलफलबाट समाधान गर्ने प्रयास निरन्तर जारी रहेको पनि उनले बताए ।
EKANTIPUR