एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाद्धारा विरोध र्‍याली

काठमाडौं । सहमतिको आधारमा पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान जारी गर्न दबाब दिने उद्देश्यले एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले शनिबार राजधानीमा विरोध र्‍याली निकालेकोे छ ।
राजधानीको भृकुटीमन्डपबाट सुरु भएको र्‍याली सहिदगेट, सुन्धारा, न्युरोड, इन्द्रचोक, असन हुँदै शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै एमाओवादी नेतृ हिसिला यमी, पद्यरत्न तुलाधरलगायतले पहिचानसहितको संविधान जारी हुनुपर्ने आफूहरुको अडान यथावत रहेको बताए ।
सहमतिकै आधारमा अघि बढ्न दबाब दिने उद्देश्यले ३० दलीय मोर्चाले आगामी माघ ५ गतेसम्म देशव्यापी रुपमा विरोधका कार्यक्रम अघि सारेको छ । कांग्रेस-एमालेलगायतका सत्तारुढ दलहरुले दुई तिहाइ बहुमतका आधारमा संविधान जारी गर्न खोजेको आरोप लगाउँदै ३० दलीय मोर्चाले केही समयअघि आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
मोर्चामा एकीकृत माओवादीलगायतका केही मधेसवादी दल र साना दलहरु सहभागी छन् । काठमाडौं बाहिरका जिल्लाहरुमा पनि मोर्चाले शनिबार विरोध र्‍याली निकालेको जनाइएको छ । IMAGEKHABAR