-शोभाखर पन्थी
पुष-२१, पटौटी, अर्घाखाँची । पटौटी-खज्र्याङ्ग-तम्घास सडक खण्ड निर्माणको काम बुधबार देखि सञ्चालन हुने भएको छ । अर्घाखाँची, गुल्मी र रुपन्देही जिल्लाको मेरुदण्डका रुपमा रहेको सो सडक अर्घाखाँचीको पटौटी देखी गुल्मीको तम्घाससम्म साडे पैतीस कि.मि.निर्माण हुने सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक आयोजनाले जनाएको छ ।
यस वर्ष सरकारको २ करोड १० लाख रुपैयाँको लागतमा कामसुचारु हुने सडक तीन वर्षभित्रमा पुरा हुने जनाइएको छ । सडक अर्घाखाँचीको पटौटी, दुर्गाफाँट, कुखुरेदेउराली, मधुलेख, गुल्मीको खज्र्याङ्ग, राङवास, सिमिचौर, देउराली हुदै तम्घास जोडिने जनाइएको छ । सो सडक निर्माणपछि गुल्मीका बासिन्दाहरु लाई बुटवल जान दुरी निकै छोटो र सहज हुने भएको छ भने सडकबाट अर्घाखाँची, गुल्मी, पाल्पा, रुपन्देही र बालुङ्ग जिल्लाका समेत झण्डै १० दर्जन भन्दा बढी गाविसका बासिन्दाले प्रत्यक्ष लाभ उठाउन सक्नेछन् । सालझण्डी ढोरपाटन सडकखण्ड अन्तर्गत निर्माण हुने सो सडकलाई वैकल्पिक लोकमार्गका रुपमा स्थापनागरिने गुल्मी जिल्ला क्षेत्र नं. २ का सभाषद चन्द्र भण्डारीको भनाई छ ।
सडकको बुधवार नेपाली कांग्रेसका नेता तथा गुल्मी जिल्ला क्षेत्र नं. २ का सभाषद चन्द्र भण्डारी, एमाओवादी संसदीय दलका उपनेता तथा अर्घाखाँची जिल्ला क्षेत्र नं. १ का सभाषद टोप बहादुर रायमाझी, सरकारका मुख्य सचिव लिलामणि पौडेल लगायतले शिलान्याश गर्ने कार्यक्रम रहेको छ ।