काठमाडौं, पुस २३ – एमाले अध्यक्ष केपी शर्मा ओलीले तराईका पाँच जिल्ला टुक्र्याउन नहुने अडान लिएपछि प्रमुख चार दलको बुधबारको बैठक त्यत्तिकै सकियो ।
बैठकमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जिल्ला झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरसमेत पाँच जिल्लालाई मधेसमा राख्नुपर्ने धारणा राखेलगत्तै एमाले अध्यक्ष ओलीले अस्वीकार गरे । तराई र समथर भाग मधेस नै हुनुपर्ने माग जायज नभएको बताएपछि मधेसी मोर्चाका दलहरु आक्रोसित भएका थिए ।
‘समथर भाग देख्नै नहुने, मधेस नै हुनुपर्ने भन्ने ? उसो भए यूपी र बिहार पनि मधेस प्रदेश नै हुनुपर्ने ?,’ ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘यस्तो बेतुकको कुरा नगर्नुस् ।’ महतोको अभिव्यक्तिलाई बेतुकको भनेको भन्दै मोर्चाका नेताहरु उठेका थिए । उनीहरुले ओलीले आत्मालोचना गर्नुपर्ने माग राखेका थिए ।
बैठकपछि ओलीले मधेसी मोर्चाका नेताहरुले निहुँ खोजेको आरोप लगाए । ‘के निउँ पाऊँ, कनिका बिकाऊँ भन्ने थियो,’ उनले भने, ‘निऊँ पाए ।’
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ओलीका कारण बैठक भाँडिएको आरोप लगाए । ‘उहाँले असभ्य व्यवहार देखाउनुभयो,’ उनले भने, ‘बेतुकको कुरा गर्ने भन्दै होच्याउनुभयो ।’
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भने बैठकमा असमझदारी उत्पन्न भए पनि भाँडिएको भनेर नबुझ्न आग्रह गरे । EKANTIPUR