भूमिगत नभई जनतामा फर्कने पार्टी बनाउने विप्लवको प्रस्ताव

दाङ, २४ पुस । दाङमा चलिरहेको नेकपा माओवादीको प्रथम राष्ट्रिय सम्मेलनले अब पार्टीलाई जनतामा फर्काउने प्रस्ताव गरेको छ । बुधबारदेखि सुरु भएको राष्ट्रिय सम्मेलनमा आज पार्टीका संयोजक नेत्रविक्रम चन्द विप्लवले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टीलाई हुनेखानेको पहुँचबाट फर्काएर श्रमिक जनताको माझमा ल्याउने बताएका हुन् । 
सम्मेलनमा बिहीबार संयोजक विप्लवले एकीकृत जनक्रान्तिको कार्यदिशासहितको राजनैतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । त्यस्तै पार्टीका कार्यालय सदस्य तिलक परियारले पार्टीको विधान प्रस्तुत गरेका छन् । सम्मेलनबारे दिउसो सम्मेलनस्थलमा आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले पार्टीलाई अब सर्वहारा वर्गका नेताहरुको पार्टी बनाउने बताए । त्यो पार्टीले प्रतिक्रान्ति रोक्दै जनतालाई राज्यसत्ता दिनका लागि संघर्ष गर्ने बताए । उनले अबको क्रान्तिमा आम जनता, श्रमिक मजदुर, व्यापारी, कर्मचारी, विभिन्न पेशाकर्मी, राष्ट्रिय पुँजीपति तथा मध्यम वर्गसँगसमेत सहयात्रा गरिने बताए । 
पत्रकार भेटघाटमा प्रवक्ता प्रकाण्डले अब नेपालमा नेपाली विशेषता र मौलिकताका आधारमा एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशा विकास गरिएको जानकारी दिए । उनले सम्मेलनको बन्दशत्रमा प्रस्तुत गरिएको राजनैतिक प्रतिवेदनमा राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिको विश्लेषण, पार्टी पुनर्गठनको आवश्यकता, नेपालको राजनैतिक वर्ग विश्लेषण, आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थाको विश्लेषण, आगामी कार्यक्रम र आफूहरुले संचालन गर्ने राज्यको नीति तथा कार्यक्रमहरु समेटिएको जानकारी दिए । 
आजको सम्मेलनमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै संयोजक विप्लवले विश्व बहुध्रुबमा बाँडिएको बताएका थिए । अहिले कुनै एक देशको मात्र दवदवा रहने स्थिति नरहेको बताउँदै अहिले नेपालमा कम्युनिस्टहरुका अगाडि अनकूल स्थिति रहेको विश्लेषण गरे । २८ पेज लामो आफ्नो प्रतिवेदनमा संयोजक विप्लवले नेपालका जनयुद्ध पूरा नभएका कारण जनता क्रान्तिप्रति निराश भएको तर जनता नटाढिएको बताए । उनले माओवादी पार्टी फुटेको नभई केही नेताहरु आफ्नो यात्राबाट पछाडि हटेको बताए । विप्लवको प्रतिवेदनमा आफ्नो सत्तामा लिइने सुरक्षा नीति, औद्योगिक नीति, कृषि नीति, उर्जा र जलस्रोत नीति, वैदेशिक नीतिहरु पनि उल्लेख गरिएको छ । 
सम्मेलनले नयाँ केन्द्रीय समिति निर्वाचित गर्ने बताइएको छ । सम्मेलनको बन्दशत्र चार सदस्यीय अध्यक्ष मण्डलले संचालन गरिरहेको छ । बन्दशत्रमा प्रस्तुत गरिएको राजनैतिक प्रतिवेदन र विधानमाथिको छलफल सुरु भएको छ । विभिन्न जिल्लाहरुबाट विधान र प्रतिवेदनमाथि छलफल गरेर त्यसका बारेमा धारणा राख्ने काम सुरु भएको छ । बन्दशत्रमा बोल्ने प्रतिनिधिहरुले विगतमा प्रचण्ड, बाबुराम र किरणले जस्तो धोका नदिन खबरदारी गरेका छन् । 
सम्मेलनमा आयोजक, प्रतिनिधि र स्वयमसेवक गरेर करिव ७ सय प्रतिनिधि सहभागी छन् ।