प्रचण्डलाई जस्तै लतार्न खोजे दुर्भाग्य: खड्गबहादुर विश्वकर्मा

दाङ, २५ पुस । नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले वास्तविक माओवादी प्रचण्ड र बाबुराम लतारिएको जस्तो नभएको बताएका छन् । पार्टीको प्रथम राष्ट्रिय सम्मेलनबारे जानकारी दिन आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता प्रकाण्डले कांग्रेस र एमालेले प्रचण्ड र बाबुरामलाई लतार्दैमा माओवादी शक्ति नलतारिने बताएका हुन् । 
उनले समग्र शान्ति प्रक्रियाको मूल स्पिरिटलाई चटक्कै भुलेर पुरानो व्यवस्था लाद्ने प्रयत्न गरिएमा माओवादीले त्यसको सशक्त प्रतिरोध गरिने बताए । आफ्नो राष्ट्रिय सम्मेलन चलिरहेका बेला केही एनजीओकर्मीहरुले बेनी घटनालाई उचालेको उल्लेख गर्दै प्रवक्ता प्रकाण्डले यस्ता षड्यन्त्रमा नलाग्न आग्रह गरे । शान्ति सम्झौतामा टुंगो लागिसकेका विषय यदि यो बेला उठाउने हो भने आफुहरुले पनि त्यतिबेला रुकुमका खारामा गाउँनै जलाइएको बारे जनअदालतमा परेका मुद्दाहरु उठाउने बताए । 
उनले माओवादीलाई बाहिर राखेर संसदवादीहरुले माघ ८ मा एकल रुपमा संविधान जारी गर्ने प्रयत्न गरेमा त्यसको पनि प्रतिरोध गर्ने बताए । यो संविधानसभाबाट श्रमिकवर्गको पक्षमा संविधान बन्न नसक्ने तर्क गर्दै प्रवक्ता प्रकाण्डले यसको विघटन गरी अधिकार सम्पन्न राष्ट्रिय राजनीतिक सभाको गठन गर्नुपर्ने बताए । सोही सर्वपक्षीय सभाबाट जनताका अधिकार सुनिश्चित गरिएको अग्रगामी संविधान बनाइएमा मात्र नेपालको शान्ति प्रक्रियाले पूर्णता पाउने उनले बताए । जनताका जनजीवीका, राष्ट्रियतालाई पूरै नजरअन्दाज गरी बनाइने संविधान स्वीकार गर्न नसकिने उनको भनाई थियो । 
शुक्रबारको बन्दशत्रमा ७० बढी समूहले आआफ्ना सुझाव प्रस्तुत गरेका छन् । सबै समूहबाट माओवादी आन्दोलन कमजोर बन्दा जनता कमजोर भएका कारण एउटा सशक्त पार्टी निर्माण गर्नुपर्ने सुझाव आएको प्रवक्ता प्रकाण्डले जानकारी दिएका छन् । केही प्रतिनिधिहरुले शान्ति सम्झौतालाई भंग गर्दै माओवादी सिध्याउने अभियानमा लागेका संसदवादीहरु विरुद्ध सशक्त प्रतिकार आन्दोलन गर्नुपर्ने सुझाव पनि राखेको उनले बताए । त्यसैगरी जनसत्ता, जनसेना र जनअदालत पनि पुनस्र्थापना गर्नुपर्ने प्रतिनिधिहरुले माग गरेका छन् । 
सम्मेलनको बन्दशत्रबाट शनिवार केन्द्रीय समितिको चयन गरिने बताइएको छ । अहिले पार्टीका संयोजक नेत्रविक्रम चन्द विप्लव र नेता तिलक परियारले प्रस्तुत गरेको विधानमाथिको समूहगत छलफल चलिरहेको छ ।