– विजुला रायमाझी
सन्धिर्खक अर्घाखाँची
सहिदको रगतले रंगिएर रातो भएको यो माटो
पूर्खाको पौरख र खुन पसिना सोंसेर चट्टान भएको चुनढुङ्गा
यी जीवन दायिनी पानीका मूलहरु जौविक विविधता र जडिबुटी
प्राकृतिक वातावरण र हरियाली मासेर
पुर्खाको नासो कौडीको मोलमा बेचेर
बन्दैन बन्दैन यसरी नयाँ नेपाल बन्दैन ।
जल जमिन र जङ्गल जतनसाथ जोगाउने जनतालाई
राज्य शक्तिको आडमा दुःख दिइ निरिह बनाएर
पुषमागको कठाङ्ग्रीने जाडोमा नाङ्गो टाउको र भोको पेट
खुला आकाशमुनि अनसन बस्न विवस पारेर
नर्तनाचल पर्वतकोउचाई घटाएर वातावरण विनाश गरेर
बन्दैन बन्दैन नयाँ नेपाल यसरी बन्दैन
साँच्चै सुन्दर र शान्त नयाँ नेपाल बनाउने हो भने
विकासको नाममा विनाश नहोस्
खनिजश्रोत उत्खनन् गर्दा जनताको उठिबास नहोस्
मुठ्ठीभरको नीम्ति हज्जारौँको बिल्लीबाठ नहोस्
उद्योगीको नीम्ति श्रमजीविहरु सती जान नपरोस्
न्यायको नीम्ति बालेको दीयो कहिल्यै ननिभोस्
नरपानीमा गुञ्जेको आवाज बिहिनहरुको आवाज
सरकारले सुनिदिओस् सच्चा राष्ट्र प्रेमीले बुझी दिओस्