सत्तारूढ कांग्रेस र एमाले बहुमतीय प्रक्रियामा

काठमाडौ, पुस ३० – सत्तारूढ कांग्रेस र एमालेले एमाओवादीसहितको विपक्षी मोर्चाद्वारा मंगलबार संविधानसभा बैठक बहिष्कार गरिएको घटनालाई दुःखद भन्दै सहमति हुन नसके बहुमतीय प्रक्रियाबाट भए पनि संविधान निर्माण कार्य अघि बढाउने बताएका छन् । तैपनि सहमति प्रयास जारी राख्ने भएका छन् ।
दुई दलको पहिलो विकल्प राजनीतिक दलका सबै धारणालाई संविधानसभाले सीधै निर्णय गर्ने गरी प्रक्रिया अघि
बढाउने छ । त्यसमा सभाध्यक्षले ‘आँट’ गर्न नसके प्रश्नावली बनाउन समिति बनाउने दोस्रो विकल्प छ । प्रश्नावली तयार पार्न समय तोकेर समितिलाई जिम्मा दिने र त्यतिञ्जेल सहमति लागि प्रयास जारी राख्ने ती दलका नेताले बताएका छन् । सभाध्यक्ष सुवास नेम्वाङले पहिलोभन्दा दोस्रो विकल्प उपयुक्त मानेका छन् ।
‘संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिबाट संविधानसभामा पुगेका सबै दलका धारणा सीधै संविधानसभाको बैठकमा निर्णयका लागि प्रस्तुत गरी मस्यौदा समितिमा पठाउनुपर्छ भन्ने हाम्रो साझा धारणा हो,’ कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले कान्तिपुरसँग भने, ‘यो भएन भने के गर्ने भन्नेबारे कुनै निष्कर्षमा पुगिसकेका छैनौं ।’
सभाध्यक्षले सबै दलका धारणा सीधै संविधानसभा बैठकमा निर्णयका लागि प्रस्तुत गरी मस्यौदा समितिमा पठाउने विकल्प अघि बढाउने उनले विश्वास गरे । ‘सभाध्यक्षले आँट गर्न सक्नुहुन्छ कि हुँदैन भन्ने प्रश्न गर्नु उपयुक्त हुन्न,’ उनले भने, ‘संवाद समितिलाई ५ पटकसम्म अवसर दिँदा पनि सहमति गर्न नसकेपछि अबको विकल्प भनेकै सबैको धारणालाई संविधानसभाले निर्णय गरी मस्यौदा समितिमा पठाउने हो ।’
कांग्रेस र एमालेले प्रक्रियाका विभिन्न विकल्पमा छलफल गर्न बुधबार बिहान बैठक बोलाएका छन् । दुई दलले संविधान निर्माण प्रक्रियाको एउटै धारणा बनाएर अघि बढ्ने रणनीति बनाउने भएका छन् ।
संविधानसभाको बैठक छाडी आन्दोलनमा लागेकामा एमाओवादी र मधेसवादीलगायत गठबन्धनप्रति कांग्रेस र एमालेका नेताहरूले आश्चर्य व्यक्त गरेका छन् । एमाले अध्यक्ष केपी ओलीले संविधानसभाको बैठक बहिष्कार गरेर विपक्षी मोर्चाले संविधानसभाको अपमान गरेको बताए । ‘संविधानसभामा आफूलाई ठूलो स्टेकहोल्डर भन्नेले बन्दकर्ता भएर हिँड्नु कति शोभनीय हुन्छ ?’ संविधानसभा बैठकबाट बाहिरिने क्रममा ओलीले भने, ‘जनताको अपेक्षाप्रतिको योभन्दा ठूलो खेलबाड के हुन्छ ? संविधानसभालाई अनादार गर्ने आज अन्तिम दिन होस् ।’ बहिष्कारको घटनाले एमाओवादीको संविधानसभाप्रतिको विश्वास र त्यहींबाट संविधान बनाउने दृष्टिकोण कति कमजोर रहेछ भन्ने देखाएको ओलीले बताए । ‘उसकै कारणले माघ ८ मा संविधान जारी गर्ने सम्भावना धरापमा पर्दै गएको छ । तीन महिनासम्म संवाद समितिमा विभिन्न बहानामा लडाएर राखिदिने, सहमति हुन्छ गरौं भन्ने भाषा बोल्ने, सहमतिमा आउन कहिल्यै नखोज्ने र देशहित, जनहितको पक्षमा संविधानसभाले अडान देखायो भने संविधानसभाविरुद्ध बन्द/हडताल गरेर हिँड्न सुहाउँछ ?’ ओलीले प्रश्न गरे । ओलीले संविधानसभाबाट कुनै दल बाहिरिए पनि संविधानसभाले संविधान बनाएर आफ्नो दायित्व पूरा गर्ने बताए । ‘संविधानसभाबाट कोही बाहिर गए भने के गर्ने ? छाडेर हिँड्ने कि संविधान बनाउने ? यत्रो खर्च गरे दोस्रो संविधानको चुनाव गर्‍यौं, कसैलाई भित्र पस्नै मन लागेन भन्यो भने संविधानसभालाई असफल बनाउने ?’ उनले भने ।
 कांग्रेस उपसभापति रामचन्द्र पौडेलले छोटो प्रक्रियाबाट माघ ८ मै संविधान ल्याउन कसरी अघि बढ्ने भन्नेबारे दुई दलबीच बुधबार बिहान छलफल हुने बताए । दुवै दलका नेताले माघ ८ को मिति सार्नेबारे छलफल नभएको बताए । ‘अहिले पनि माघ ८ मै संविधान जारी गर्न कस्तो प्रक्रियाबाट जान सकिन्छ भन्नेबारे नै छलफल भएको छ,’ पौडेलले भने, ‘मिति सार्ने विषयमा कुनै छलफल भएको छैन ।’
 एमाले उपमहासचिव विष्णु पौडेलले सहमतिको अधिकतम प्रयास सफल नभएकाले अब नियमावलीका प्रक्रियाअनुसार संविधान निर्माणको कार्य अघि बढ्ने बताए । संविधानका विवादित विषयमा छलफल गर्नु अब आवश्यक नरहेकाले माघ ८ मै जारी गर्ने गरी प्रक्रिया छोट्टयाउनुपर्ने पक्षमा एमाले रहेको उनले जानकारी दिए । ‘बहुसंख्यक होइन, अल्पसंख्यकको भावनाअनुसार संविधान जारी हुनुपर्छ भन्ने मान्यता देखिइरहेको छ, यो बुझिनसक्नु छ,’ पौडेलले भने, ‘बहुसंख्यकले भनेअनुसार हुने कि अल्पसंख्यकले ?’
 कांग्रेस सहमहामन्त्री खडकाले संविधानसभाका लागि आन्दोलन गरेकै पार्टीले बैठक बहिष्कार गरेर गम्भीर गल्ती गरेको बताए । उनले संवाद समितिका सभापति बाबुराम भट्टराईले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको बताए । ‘हामीले भट्टराईलाई समितिको सभापति ठानेका थियौं तर उहाँ एमाओवादी सभासदको हैसियतमा मात्र देखिनुभयो । सभापतिको जिम्मेवारी पूरा गर्न सक्नु भएन,’ खडकाले भने, ‘मंगलबारको संविधानसभा बैठकमा प्रतिवेदन बुझाउने निर्णय सोमबार सर्वसम्मतिले भएको थियो । त्यसविरुद्ध गएर गैरजिम्मेवार कार्य देखाउनुभयो । पार्टीको निर्णय पालना गरेर सभापतिको दायित्व बिर्सने कुरा दुर्भाग्यपूर्ण हो ।’
अहँ, प्रक्रिया हुँदैन: विपक्षी
काठमाडौं -एमाओवादी-मधेसीलगायत ३० दलीय गठबन्धनले प्रक्रियाबाट संविधान निर्माण अघि बढ्न नसक्ने निष्कर्ष निकालेको छ । सिंहदरबारमा मंगलबार बेलुका बसेको गठबन्धन बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
‘प्रक्रियामा जान पनि सहमति चाहिन्छ, सहमतिबिना प्रक्रियामा जान कोही पनि सक्दैन,’ एमाओवादी महासचिव कृष्णबहादुर महराले बैठकपछि भने, ‘त्यसकारण सहमति प्रयास अझै गर्नुपर्छ ।’ उनले विपक्षीले संविधानसभा बहिष्कार नगरेको जिकिर गरे । ‘हामीसँग सभामुखले सहमतिबिना बैठक अघि नबढाउने बताउनुभएको थियो, तर कांग्रेस-एमालेको दबाबमा अघि बढाउनुभयो,’ उनले भने, ‘यसले विपक्षी दललाई बेवास्ता गरेको महसुस भएको छ ।’
एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले संविधानसभामा आफूहरू कसरी प्रस्तुत हुनेबारे निर्णय भइनसकेको बताए ।
EKANTIPUR