माघ ८ आसपास राजधानीमा नेताहरुमाथि आक्रमण हुन सक्ने भन्दै सुरक्षामा कडाइ

काठमाडौं । माघ ८ आसपास राजधानीमा नेताहरुमाथि आक्रमण हुन सक्ने भन्दै सरकारले भीआईपीहरुको सुरक्षामा कडाइ गर्नेभएको छ । तराईका सशस्त्र समूहले राजधानीमा हत्या हिंसा मच्चाउन सक्ने सुरक्षा अधिकारीहरुको विश्लेषण छ ।
यसैवीच सशस्त्र प्रहरी प्रधान कार्यालयमा कार्यरत एसएसपी किशोर प्रधानले एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको घरैमा पुगेर केही दिन सार्वजनिक गाडीमा यात्रा नगर्न भनेका छन् ।
सार्वजनिक यातायातमा हिँड्ने गरेका श्रेष्ठलाई एसएसपी प्रधानले तराईका सशस्त्र समूहबाट आक्रमण हुन सक्ने भन्दै सजग गराएका हुन् ।
एमाओवादी नेता श्रेष्ठले लिँदै आएको सुरक्षाकर्मीको सुविधासमेत बढाउने प्रधानले प्रस्ताव राखेका छन् । तर, नेता श्रेष्ठले सुरक्षाकर्मी थप्ने प्रस्ताव अस्वीकार गरेको स्रोतले बतायो ।
हालै राजधानीको स्युचाटारमा ज्वाला सिंहका कार्यकर्ताको कोठामा सुतली बम फेला परेकाले राजधानीमा सुरक्षा खतरा बढेको सशस्त्र प्रहरीको विश्लेषण छ ।
यसैसाता राजधानीमा स्कुटरभित्र लुकाइराखेको अवस्थामा पेस्तोल  बरामद भएपछि कुनै नेतामाथि आक्रमण हुन सक्ने प्रहरीले आशंका गरेको हो ।
स्रोतका अनुसार प्रहरीले नेताहरुलाई माघ ८ को आसपास मर्निङ वाकमा हिँड्दासमेत आफ्नो सुरक्षाबारे ख्याल गर्न भन्दै सजग गराएको छ ।
गत शनिबार काठमाडौंको स्युचाटार-१ दुर्गा कोलोनी नजिक कृष्णहरि बिडारीको घरको भुइँतलामा सुतली बम विष्फोट भएको थियो । त्यसलगत्तै घटनास्थलमा पुगेको प्रहरीले बिडारीको घरमा डेरा गरी बस्ने बुटवलका अमृत शर्माको कोठाबाट हतियार र सशस्त्र समूहको पर्चा फेला पारेको थियो ।
शर्मा हाल फरार रहे पनि उनको कोठामा बस्दै आएकी ईलामकी सितामाया राईलाई हातको औंलामा चोट लागेको अबस्थामा नियन्त्रणमा लिएको छ । सो कोठाबाट कटुवा पेस्तोल १ थान, त्यसको गोली २ राउण्ड र सुतली बम फेला परेको थियो । साथै सिताको राहदानीको प्रतिलिपि, कतार एयरवेयजको टिकट, तराई जनतान्त्रिक ज्वाला मुक्ति सेना समुह लेखिएका बिभिन्न कागजातसमेत बरामद भएको थियो ।
यसैगरी गत शुक्रबार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१७ अनुदान चोकमा पेस्तोलसहित दुईजना पक्राउ परेका थिए । महानगरीय प्रहरी प्रभाग सानोठिमीले बा ६६ प २६७५ नम्बरको स्कुटीको डिक्कीभित्र लुकाई छिपाई राखेको रिभल्वर १ थान र त्यसको गोली १ राउण्डसहित काभ्रे सिसाखानी-७ घर भएका १८ वर्षीय अजय लामा र काभ्रे महादेव-४ घर भई भक्तपुर चुनदेवीस्थित जर्मन रेष्टुरेन्टमा काम गर्ने २४ वर्षीय मिलन तामाङलाई पक्रेको हो ।
यसैगरी सप्तरी कल्याणपुर मझौ-३ स्थित झाडीमा बेवारिसे अबस्थामा रहेको १ थान भरुवा बन्दुक ईलाका प्रहरी कार्यालय कल्याणपुरको प्रहरीले शुक्रबार बरामद गरेको थियो ।  अनलाइनखबर