नेपाली सेनाका उपरथी पूर्णचन्द्र थापालाई संयुक्त राष्ट्र संघीय शान्ति सेनाको फोर्स कमान्डरमा नियुक्त

 संयुक्त राष्ट्र संघका महासचिव वान की-मुनले नेपाली सेनाका उपरथी पूर्णचन्द्र थापालाई सोमबार संयुक्त राष्ट्र संघीय शान्ति सेनाको फोर्स कमान्डरमा नियुक्त गरेका छन् । नेपाली सेनाका उच्च अधिकृतले संयुक्त राष्ट्र संघमा सन् २००८ पछि यो स्तरको नियुिक्त पाएका हुन् । यसअघि सेनाका रथी पवनजंग थापाले यस्तो जिम्मेवारी पाएका थिए । 
राष्ट्र संघको झण्डामा परिचालन हुने शान्ति सेनाको फोर्स कमाण्डरमा नियुक्त उपरथी थापाले राष्ट्र संघीय मिसनको प्रमुख र फोर्स कमाण्डरको जिम्मेवारी सम्हाल्ने  संयुक्त राष्ट्र संघ मुख्यालयले सोमबार जनाएको छ । यसअघि राष्ट्र संघको सुरक्षा परिषद्ले उपरथी थापालाई युएन शान्ति सेना मिसन प्रमुख तथा फोर्स कमाण्डरमा नियुक्त गर्ने महासचिव मुनको प्रस्तावलाई अनुमोदन गरेको थियो । 
थापा अघि भारतीय स्थल सेनाका रथी इकवल सिंह सिंहा यो जिम्मेवारी सम्हालेका थिए । उनले जनवरी २ मा अवकाश पाएका थिए। मुनले अत्यन्तै कठिन समयमा राष्ट्र संघीय शान्ति सेनाको फोर्स कमाण्डर सम्हालेको भन्दै धन्यवाद दिएका छन् । साथै नवनियुक्त थापाले राष्ट्रिय तथा अन्तराष्ट्रिय  अनुभव र ज्ञानका साथ शान्ति स्थापना कार्यलाई नयाँ उचाईमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । 
उपरथी थापा हाल नेपाली सेनाको जंगी अड्डास्थित सम्भाररथी विभाग प्रमुख हुन। उनले नेपाली सेनाको उपत्यका पृतनाको कमान्ड समेत सम्हाली सकेका छन् । साथै थापाले नेपाली सेनाका विभिन्न तहको जिम्मेवारी समेत सम्हालेका छन् ।  उनले माओवादी सेना समायोजन संयुक्त सुपरिवेक्षण कार्यदलमा रहेर समेत काम गरेका थिए । 
भारतको मद्रास विश्वविद्यालयबाट दर्शनशास्त्रमा स्नातकोत्तर थापाले नेपाली सेनामा आवश्यक पर्ने सबै किसिमको तालिम, कोर्स तथा अनुभव हासिल गरिसकेका छन् । उनको जिम्मेवारी राष्ट्र संघमा सहायक महासचिव स्तरको हो। थापाको कार्यकाल २ बर्षको हुने छ । 
युएन फोर्स कमाण्डरमा नवनियुक्त थापा अव केही सातापछि नै उक्त जिम्मेवारी सम्हाल्न लेवनान नजिकैको गोलन हाइट जाने छन्। गोलन हाइटस्थित संयुक्त राष्ट्र संघीय मिसन हेडक्वार्टर्समा रहेर उपरथी थापाले यस क्षेत्रमा खटिने संयुक्त राष्ट्र संघीय शान्ति सेनाको कमाण्ड सम्हाल्ने छन्। SETOPATI