कुष्ठरोग मुक्त समाजको परिकल्पना, नयाँ प्रबिधि,मानव अधिकार र पुनः स्थापना भन्ने नाराका साथ आज ६२ औ बिश्व कुष्ठरोग दिवस मनाइँदै छ। कुष्ठरोग दिवसकै अवसरमा कुष्ठरोगीमाथि हुने बिभेदको अन्त्य गरी माया र आदर गरौ भन्ने सन्देश दिन नेपालगन्जमा गुलाव साटासाट तथा सचेतना र्याली आयोजना गरियो।
सेतोपाटीमा समाचार छ। सन २०१० मै नेपालबाट कुष्ठरोग निबारण भईसकेको घोषणा गरिए पनि पश्चिम नेपालको बाँके तथा बर्दियामा भने कुष्ठरोगीहरुको संख्यामा अझै कमी आएको छैन।
टिबी नेपालद्धारा नेपालगन्जको सल्यानीबागमा संचालित कुष्ठरोग क्लिनिकमा उपचारका लागि कुष्ठरोगीहरु आउने क्रम अझै घटेको छैन। कुष्ठरोग लागेको आशंकामा उपचारका लागि स्बास्थ्य संस्थामा आएका बिरामी मध्ये ३६ नयाँ बिरामीमा कुष्ठरोग देखिएको जिल्ला जनस्बास्थ्य कार्यालय बाँकेले जनाएको छ।
जनस्वास्थ्य कार्यालय लगायत बिभिन्न संघ संस्थाहरुले जनचेतना अभिबृद्धि तथा उपचारमा जोड दिँदै बिरामीहरुलाई उपचारका लागि प्रोत्साहित गर्न थालेपछि कुष्ठरोगका नयाँ बिरामीहरु उपचारका लागि अस्पताल आउने क्रम बढेको हो।
दश हजारमा एक जना भन्दा कममा कुष्ठरोगी भेटिएको जनाउँदै नेपाल सरकारले सन २०१० को जनबरीमा नेपालबाट कुष्ठरोग निवारण भएको घोषणा गरेपनि बाँके तथा बर्दियामा दश हजार जनसंख्यामा करिब २ जना भन्दा बढीमा कुष्ठरोगीहरु भेटिएको उपचारमा संलग्न चिकित्सक डा. सुशील कोइरालाले बताए।
उपचारका लागि आउने बिरामी मध्ये सबैभन्दा बढी बाँके र बर्दिया छन्। ६ महिनादेखि एक बर्ष सम्म नियमित रुपमा औषधी सेवन गरेर कुष्ठरोग निको हुन्छ। कुष्ठरोगका बिरामीहरुलाई नेपाल सरकारले निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ।