प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । आफ्नो पाप पखाल्न अपराधीले अनेक रुप धारण गर्न पछि पर्दा रहेनछन् । भाइको ज्यान लिएका एक व्यक्ति कानुको आँखा छल्न मानिसहरुको पवित्रस्थल मन्दिरको पुजारी बनेको भेटिएको छ ।
आफ्नो वास्तविक नाम परिवर्तन गरी गुल्मी रिडीको हृषिकेशव मन्दिरमा पुजारीको भेषमा लुकेर बस्दै आएका सन्धिखर्क नगरपालिका-१३ धरम्पानीका ७१ वर्षीय कृष्णप्रसाद मरासिनीलाई सहोदर भाइको हत्या अभियोगमा प्रहरीले ३७ वर्षपछि आइतबार पक्राउ गरेको हो ।
आफ्नो अपराध लुकाउन मानिस धर्म संस्कृतिको आडमा समेत लुकेर बस्ने कुराको पुष्टि यो घटनाले गरेको छ ।
३४ वर्षअघि भाइको हत्या गरेर फरार उनी रिडीस्थित हृषिकेशष मन्दिरमा पुजारीको भेष्मा बस्दै आएको अवस्थामा मरासिनीलाई पक्राउ गरिएको अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक दिपेन्द्र जिसीले बताए ।
अपराधीहरु सधैं लुक्न नसक्ने यो घटनाले देखाएको छ । अर्घाखाँची जिल्ला अदालतले २० वर्ष जेल सजाय सुनाएका उनलाई पक्राउ गरेपछि जिल्ला कारागार कार्यालयमा चलान गरिएको छ ।
२०३७ साउनमा तत्कालिन अर्घा गाविस-६ हालको सन्धिखर्क नगरपालिका-१३ निवासी भाइ टुल्कप्रसाद मरासिनीको हत्या गरेपछि उनी फरार थिए । जिल्ला अदालत अर्घाखाँचीले २०४७ जेठ ३१ गते भाइ मारेको प्रमाणित गर्दै उनलाई २० वर्ष जेल सजाय सुनाएको थियो ।
५ वर्षअघिदेखि रिडीको हृषिकेश मन्दिरमा केशवराज शर्माका नाम चिनाउँदै पुजारीको भेष लिएका मरासिनीलाई विशेष अनुसन्धानपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरीक्षक युराज तिमिल्सिनाले बताए ।
भाइको हत्या गरेपछि उनी भारतका विभिन्न स्थानमा लुक्दै आएका थिए । हत्याको जाहेरी दिने उनकी भाइबुहारी मनकला मरासिनीको पनि मृत्यु भएपछि उनी रिडीमा आएर नाम परिवर्तन गरी पुजारी बनेको प्रहरी निरीक्षक तिमिल्सिनाको भनाइ छ ।
घरायसी झगडका क्रममा कृष्णले २०३७ सालमा लाठीले हानेर भाइको हत्या गरेको प्रहरी नायव उपरीक्षक दिपेन्द्र जिसीको भनाइ छ । अदालतले २० वर्षको जेल सजाय सुनाएकाले उनी वि.सं. २०९१ सम्म जेलमै रहने छन् ।
यता गुल्मीको रिडीस्थित हृषिकेश मन्दिरका अध्यक्ष दुर्गादत्त रेग्मीले मन्दिरमा अर्गलीका भट्टराई परिवारमात्र पुजारी रहने ब्यवस्था गत ५ सय वर्षदेखि चलिरहेको र मरासिनी थरका कोही व्यक्ति पुजारी नरहेको बताए ।