काठमाडौ – सशस्त्र संघर्षको कार्यदिशा लिएर मोहन बैद्य नेतृत्वको माओवादीबाट अलग भएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले एमाओवादी लगायतका दलहरुलाई संविधानसभा छाड्न र सहमतिका पक्षमा संघर्षमा उत्रन आह्वान गरेको छ ।
कान्तिपुरमा समाचार छ। माओवादी प्रवक्ता खड्गबहादुर विश्वकर्माले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एमाओवादीलगायत वामन्थी राजनीतिक शक्तिलाई संविधानसभा छाड्न आग्रह गरे । ‘प्रतिक्रियावादी संसदभित्र सम्भावनाको खोजी गर्ने बहाना गर्नु एमाओवादीलगायत कतिपय संसदवादीका लागि मृगमरिचीका बाहेक अरु केही हुन सक्दैन,’ माओवादीले भनेको छ, ‘संसदवादको भ्रममा नपरी प्रतिक्रियावादी संसदबाट राजीनामा गरी जनताको पक्षमा संघर्षमा उत्रन पुनः आग्रह गर्दछौं ।’
विश्वकर्माले सत्तपक्षले विपक्षीलाई पेलेर जान खोजेको भन्दै संविधानसभामा साक्षीमात्रै बस्नुको अर्थ नभएको बताए ।