अर्घाखाँचीमा ३४ वर्षपछि हत्याका आरोपी पक्राउ, वर्षौसम्म लुकेर बसेका अपराधी दुई वर्षमा २० जना पक्राउ

  • प्रहरीको आँखा छलेर वर्षौसम्म लुकेर बसेका अपराधी दुई वर्षमा २० जना पक्राउ
  • अपराधी पक्रन प्रहरीको सक्रियता बढ्दो । १ सय ५० जनाको खोजी कार्य तीव्र
वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । ०३७ सालमा घरायसी झगडामा अर्घा धरमपानीका कृष्णप्रसाद मरासीनीले भाई टुल्कप्रसादको हत्या गरे । बुहारी मनकलाले जाहेरी दिईन । उनी भागे । ०४७ जेठ १३ गते जिल्ला अदालतले भाई मारेको प्रमाणित गर्दै २० वर्ष जेल सुनायो ।
त्यतिबेला उनी भारतमा लेकुर बसे । ०६० सालमा मनकलाको मृत्यु भयो । ०६२ मा कृष्ण नेपाल फर्किए । घर आएनन् । मन्दिर पसे । पाल्पा, स्याङजा र गुल्मीको सीमानामा रहेको धार्मिक पवित्र स्थल रिडिको ह्षिकेशव मन्दिरमा पुजारी बने ।  पाप पखाल्न अवराधीले विभिन्न रुप धारण गर्छ भनेजस्तै आफुलाई केशवराज शर्मा भनेर चिनाए । मन्दिरका पुजारीसँगै  हात हेर्ने गुरु समेत बनेर ९ बिताए । प्रहरीको खोजीमा थिए । यतिका वर्ष बिताएपछि सायद उनलाई म पक्राउ पर्छु र जेलबस्नुपर्छ भन्ने कल्पना गरेको थिएनन होला । भाईको हत्या गरेर मन्दिरमा लुकेका ७१ वर्षीय कृष्ण आईतबार प्रहरीको पक्राउमा परे । उनी अहिले जेलमा छन । 
पत्ता नलाग्दासम्म कृष्णलाई गुरु भनेर धेरैले ढोगिदिए होलान, प्रहरी नायव उपरीक्षक दिपेन्द्र जिसीले भने, भाईका हत्यारा पुजारीको भेषमा मन्दिरमा भेटिए । अपराधजन्य काम गरेर उम्कन्छु भन्नु गलत हो जतिवर्षपछि पनि पक्राउ पर्ने उनले बताए । रिडि धार्मिक पर्यटकीय स्थल हो । यहाँ माघ सक्रान्तिको दिन सयौ भक्तजन स्नान गर्न आउन्छन । 
अपराधजन्य काम गरेर वर्षौसम्म प्रहरीको आँखा छलेर बसेकालाई पछिल्लो पटक पक्राउ गर्न प्रहरीको सक्रियता बढेको छ । २०२४ सालमा आर्थिक लेनदेनका कारण नरपानीका साथी खिमबहादुर खत्रीलाई आफनै घर असुरकोटमा रामबहादुर बञ्जाडे गोर्खे कुटेर मारे । ०५८ मंसिर १८ गते अदालतले कर्तव्य जान मुद्धाको सजाय सुनायो । लुकेर बसेका बञ्जाडेलाई कार्तिक २ गते प्रहरीले कपिलवस्तुको वीरपुरमा पक्राउ गर्‍यो । अहिले उनी कारागारमा छन । मरसीनी र बञ्जाडे अहिले अर्घाखाँची कारागारमा जेल चलान छन । हत्या गर्ने देखी अपराधजन्य काम गरेर भागेर कानूनलाई ठग्छु भन्नु मुर्खता हो, जिसीले भने, अपराध ठहर भएपछि ५० वर्षपछि पनि पक्राउ हुन्छ । प्रहरीको अनुसन्धान र निगरानीमा रहेका व्यक्ति उम्कन नसक्ने उनले दावी गरे । 
२०६६ असार ३२ गते पाल्पा देउरालीडाँडाका आफनै पाटीका नेता यमप्रसाद आचार्यलाई कुटपिटपछि हत्या गरेको भन्दै उनकी श्रीमती लक्ष्मीको जाहेरी दिएपछि फरार रहेको नेकपा-माओवादी नेता भोला बस्याललाई ठाडाबाट तीन महिना अघि प्रहरी पक्राउ गरेका थियो । अपराज गरेर फरार रहेकालाई पछिल्लो पटक विशेष अनुसन्धान गरी नियन्त्रणमा लिन प्रहरी लागिरहेको प्रहरी निरीक्षक युवराज तिमिल्सीनाले बताए ।  
हत्या, चोरी डकैती, लुटपाट, झुटा आरोप लगाएर अपराध गर्ने व्यक्तिलाई प्रहरीले धमाधम पक्राउ गरेको छ । प्रहरीले दुई वर्षको अवधीमा मरासीनि, बञ्जाडे र बस्याल जस्ताका प्रकृतीका घटनाका अपराधी २० जना पक्राउ परेका प्रहरीले जनाएको छ । जिल्ला बाहिर र भित्र घटना घटाएर दोषी ठहरीका व्यक्ति अझै १ सय ५० जना रहेको र उनीहरुको खोजीकार्य भैरहेको जिसीले बताए । 

अन्य समाचारहरु