महिनौंदेखि व्याप्त रहेको ग्याँस आपूर्ति अभावलाई तत्काल नियन्त्रण नगरे विद्यार्थी सङ्गठनहरुले कडा आन्दोलन गर्ने

महिनौंदेखि व्याप्त रहेको ग्याँस आपूर्ति अभावलाई तत्काल नियन्त्रण नगरे विद्यार्थी सङ्गठनहरुले कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। कालोबजारीलाई नियन्त्रण गर्दै आपूर्ति सहज गर्न विद्यार्थीले ७२ घण्टे अल्टिमेटम दिएका  हुन्।
 
सेतोपाटीमा समाचार छ। मङ्गलबार सङ्घीय लोकतान्त्रिक विद्यार्थी गठबन्धनले एक प्रेस विज्ञप्ति जारी गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष देशभर व्याप्त कालोबजारीलाई तत्काल नियन्त्रण गर्न माग गरेका छन्। बजारमा ग्याँसको कृत्रिम अभाव सृजना गरिएको दाबी गर्दै सोविरूद्ध कडा कदम चाल्न गठबन्धनले सरकारलाई ध्यानाकर्षण गरेको छ। 
 
एमाओवादीनिकट अखिल (क्रान्तिकारी), सङ्घीय समाजवादी पार्टी, नेपालनिकट अग्रगामी विद्यार्थी युनियन र सङ्घीय लिम्बुवान पार्टी, नेपालनिकट सङ्घीय विद्यार्थी युनियन लिम्बुवानलगायत गठबन्धनले ग्यास तत्काल आपूर्ति गर्नु पर्ने उल्लेख छ। विद्यार्थी सङ्गठनहरूले मङ्गलबार आपूर्ति मन्त्रालय, इलाका प्रशासन कार्यालय धरान, उद्योग वाणिज्य सङ्घ, सुनसरी, इलाका प्रहरी कार्यालय धरान र धरान उपमहानगरपालिकासमक्ष अल्टिमेटम पत्र बुझाएको अखिल क्रान्तिकारीका सुनसरी सचिव प्रवेग लिम्बुले बताए। उनले अल्टिमेटमलाई बेवास्ता गरे कडा सङ्घर्षका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने जनाए।
 
‘गठबन्धनको अनुरोधलाई बेवास्ता गरी ७२ घण्टाभित्र सहज रूपमा ग्याँस आपूर्ति नभएको खण्डमा आवश्यक कदम चाल्न बाध्य हुनेछौं’, जारी विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा क्रान्तिकारीबाट प्रवेग लिम्बु, अग्रगामीबाट सुनसरी उपाध्यक्ष वरदान राई र संवियु लिम्बुवानबाट सुनसरी सचिव सन्दीप लिम्बुले हस्ताक्षर गरेका छन्। सेतोपाटीमा समाचार छ।