शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची । दैनिक जिविको पार्जनको लागि रोजगारी खोज्दै हजारौ युवाहरु विदेश पलायन भई रहेको अवस्थामा सन्धिखर्कका एक जना दलित युवाले च्याउ खेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । बैदेशिक रोजगारीको निम्ति २ वर्ष पहिले मलेसियामा गई १३ महिना सम्म काम गरेर फर्किएका सन्धिखर्क २ वेहोंरेका बन्धु नेपालीले अहिले आफ्नै घरमा बसी बसी च्याउ खेती गरेर मासिक ६० हजार बढि कमाउन सफल हुनु भएको छ ।
सन्धिखर्क बजारको घर घरमा पुगेर च्याउ बेच्दै सन्धिखर्क २ वेहोंरेका युवा कृषक बन्धु नेपाली। तस्वीर: शोभाखर पन्थी अर्घाखाँची डट्कम
विदेशमा मालिकले गरेको दुव्र्यहार र नेपालीहरुले भोग्नु परेको सास्तीबाट प्रतापिड भएका नेपालीले स्वदेश फर्किएर करिव १ लाख ५० हजारको लगानीमा ३ वटा टहरा बनाई ५ सय वटा प्लाष्टिक थुँगामा च्याउ खेती गर्न शुरु गर्नु भएको छ । हाल मासिक झण्डै ६० हजार कमाउँदै आउनु भएका उहाँले केहि महिना भित्रमा आफ्नो उत्पादनलाई दोब्बर बनाई मासिक १ लाख भन्दा बढि कमाउने तयारीमा जुटेको बताउनु भयो ।
पराललाई धोई मेसिनले काट्ने ,पराललाई पानीमा उमाल्ने र थुँगामा भरी बिउ छर्किएको ३५ दिनमै मनग्य उत्पादन लिन सकिने नेपालीको भनाई छ । हाल सन्धिखर्क बजारमा घर घरमा पु-याएर च्याउ प्रति किलो २ सय ५० का दरले विक्रि गर्दै आएको उहँले बताउनु भयो ।
च्याउको उत्पदान सँगै बजारको समेत अभाव हुने उहाँको आशंका छ । सरकारले बजारको उचित व्यवस्थापन गरिदिए जिल्लामा जति पनि च्याउ उत्पादन गर्न सकिने नेपालीको दावी छ ।
नेपालीले च्याउ खेतीका अतिरिक्त मौसमी तथा बेमौसमी तरकारी खेती समेत गर्नु भएको छ । आफु जस्ता युवाहरु खाडि मुलुकमा मासिक १०-१५ हजारमा अहोरात्र खटेको गुनासो गर्दै नेपालीले विदेसीएको युवा जनशक्तिलाई स्वदेशमा ल्याई काममा लगाउन सके मुलुकलाई छिट्टै समुन्नत बनाउन सकिने वताउनु भयो । आफुले आफै श्रम र सीपका आधारमा च्याउ र तरकारी खेती गरी युवाहरुको बीचमा उदाहरणीय काम गर्दा गर्दै पनि जिल्ला कृषि विकास कार्यालय लगायतका सरकारी निकायले कुनै वास्ता नगरेको उहाँको गुनासो छ ।
आफुले आवश्यक परेको बेलामा पैसा दिएर पनि बिउ, मल र उपकरण खरिद गर्न समेत नपाएको उहाँको गुनासो गर्नुभयो । हामी जस्ता युवाहरु भौतारिएर हिंडि देशकै लागि बोझ भएका छन् । हामी गर्न चाहानेहरु लाई पनि राज्यले हेरेको छैन , दलितहरुका निम्ति भन्दै विभिन्न संचार माध्यममा अधिकार र सहयोग का कुरा सुन्न पाइन्छ तर व्यवहारमा भने त्यसको उल्टो छ , नेपालीले गुनासो गर्नु भयो ।
२ वर्ष पहिलेसम्म साथीहरुको लहलहैमा लागेर हिंड्दा समाजले तिरस्कार गरेको सम्झँदै उहाँले राम्रो काम गरेपछि अहिले समाजमा नाम र दाम पाउनुका साथै इज्जत र प्रतिष्ठा समेत बढेको महसुस गर्नु भएको छ । शुरु शुरुमा च्याउ बेच्दै घर घरमा जाँदा जिस्क्याउने साथी भाईहरुले समेत अहिले तिमिले त राम्रो काम ग-यौ हामीले केही गर्न सकेनौ भनी सम्मान गर्न थालेको नेपालीको भनाई थियो ।