जोर्डनका राजा अब्दुल्लाले इस्लामिक स्टेटका अतिवादीहरुसँग कडा बदला लिइने विश्वास देशवासीलाई दिलाए

जोर्डनका राजा अब्दुल्लाले इस्लामिक स्टेटका अतिवादीहरुसँग कडा बदला लिइने विश्वास देशवासीलाई दिलाएका छन् ।
आफ्नो वायुसेनाका पाइलटलाई जिउँदै जलाएर आईएसले निर्मम हत्या गरेपछि आक्रोशित र दुःखी बनेका देशवासीलाई राजा अब्दुल्लाले धैर्य गर्न अपील पनि गरेका छन् ।
पाइलटको हत्या गरेलगत्तै जोर्डनले पनि उसको नियन्त्रणमा रहेको अलकायदासम्बद्ध दुई व्यक्तिलाई फाँसी दिएको छ ।
आत्मघाती आक्रमण गर्न विफल भएकी साजिदा अल रिशावी र जियाद कारबोलीलाई फाँसी दिइएको हो ।
जोर्डनले आईएसको कब्जामा रहेका आफ्ना पाइलट मोयज अल कसासबेहलाई छुटाउन रिशावीलाई छाड्नसमेत तयार भएको थियो ।
मृतक पाइलटका बाबुले हत्याको बदला लिन अपील गरेका छन् भने राजधानी अम्मानमा ठूलो संख्यामा हत्याको विरोधमा प्रदर्शन गरिएको छ ।
सिरियाको रक्कामा विमान उडाउँदै गर्दा गत वर्षको डिसेम्बरमा कसासबेहलाई आईएसले कब्जामा लिएर बन्धक बनाएको थियो । (स्रोतः एजेन्सी)