एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा एमालेलाई पाठ सिकाउनका लागि एक महिनाभित्रमा १० लाख जनसेना तयार गरेर सडकमा उतार्ने बताएका छन् ।
अध्यक्ष दाहालले आज सुनसरी जिल्लाको इटहरीमा पार्टीले आयोजना गरेको पूर्वी कमान्ड प्रशिक्षणको पार्टी अगुवा कार्यकर्ता भेलामा पार्टीको भावी आन्दोलनको रुपरेखा तथा रणनीतिका विषयमा प्रकाश पार्ने क्रममा सो कुरा बताएका हुन् ।
उनले १० वर्षे जनयुद्धकालमा जनमुक्ति सेनाकै कारणले राज्यलाई घुँडा टेकाउन सफल भएको बताउदै विश्वका विभिन्न देशमा संसद्मा कुर्सी भाँच्ने वा हान्ने कामलाई शान्तिपूर्ण मानिँदै आएको र संविधानसभामा माइक भाँचिनु अनि कागज च्यातिनुलाई पनि शान्तिपूर्ण आन्दोलन नै मान्नुपर्दछ भन्ने पार्टीको बुझाइ रहेको उल्लेख गरे ।
वर्तमान सत्ताधारीलाई कसरी तल झार्न सकिन्छ भन्ने तयारीमा लाग्न पनि अध्यक्ष दाहालले नेता कार्यकर्तालाई निर्देशन दिए ।
उनले प्रहरीले आन्दोलनकारीलाई लाठी हान्नु वा पानीको फोहोरा हान्नु पनि शान्तिपूर्ण आन्दोलन नै हुने र हामीले गाडी जलाउनु वा प्रहरीविरुद्ध ढुङ्गामुढा गर्नु पनि शान्तिपूर्ण आन्दोलन नै हुने बताए । रासस