काठमाडौं । संविधानसभाको प्रश्नावली निर्माण प्रस्ताव समितिले चार किसिमको शासकीयस्वरुपका विषयमा प्रश्नावली तयार गरेको छ । सिंहदरबारमा शनिबार बसेको समितिको बैठकले संसदीय व्यवस्था, जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मिश्रित शासकीयस्वरुपका विषयमा प्रश्नावली तयार गरेको हो ।
इमेजखबरमा समाचार छ । समितिअन्तर्गत् गठित उपसमितिले सिफारिस गरे बमोजिम नै प्रश्नावली पारित गरेको हो । समितिको बैठकले शासकीयस्वरुपका साथै संवैधानिक निकायको स्वरुप निर्धारण समितिको विषयमा पनि प्रश्नावली पारित गरेको छ ।
समितिको विरोध गरिरहेका एकीकृत माओवादी, मधेसीलगायत दलले अघिल्लो संविधानसभाका राखेका धारणालाई पनि समितिले प्रश्नावलीमा समेटेको छ । अघिल्लो संविधानसभामा नउठेका तर दोस्रो संविधानसभामा उठेका विषयमा भने प्रश्नावली निर्माण गरिएको छैन ।
समितिले हालसम्म विगतको संविधानसभामा रहेका ६ ओटा समितिको प्रतिवेदनमा विवादित रहेका १७० ओटा प्रश्न बनाइसकेको छ । राज्य पुनःसंरचनाको विषयमा भने आइतबार दिउँसो बस्ने बैठकले प्रश्नावली तयार गर्ने जनाइएको छ । राज्य पुनःसंरचनाका विषयमा मात्र ७८ ओटा प्रश्न बन्नेछन् । इमेजखबरमा समाचार छ ।