अफ्रिकी मुलुक मालीमा जारी विद्रोह अन्त्य गर्ने सम्बन्धमा युद्धविराम सम्झौता भएको छ ।
मालीको उत्तरी भागमा विभिन्न सशस्त्र समूहले गर्दै आएको विद्रोह अन्त्य गर्न अल्जेरियामा शान्तिवार्ता भएको थियो । संयुक्त राष्ट्रसंघको पहल र मध्यस्थतामा भएको वार्तामा तत्काल युद्धविराम लागू गरी विद्रोह अन्त्य गर्न माली सरकार र विद्रोही पक्ष तयार भएका हुन् ।
उत्तरी मालीमा संघर्षरत विभिन्न ६ ओटा सशस्त्र समूहको गठबन्धनसँग सरकारले वार्ता गरेको थियो । मालीको उत्तरी भेगमा बढी स्वायत्तता माग गर्दै सशस्त्र विद्रोह जारी थियो ।
विद्रोहीहरुले पूर्ण स्वायत्तता माग गरिरहेका छन् भने माली सरकारले पूर्ण स्वायत्ता दिन नसकिने जनाउँदै बढी अधिकार दिने विषयमा भने तत्काल छलफल सुरु गर्ने जनाएको छ । (एजेन्सी)