काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सहमति नभए यथेष्ठ सहमतिको आधारमा संविधान जारी हुने प्रष्ट पारेका छन् ।
भानुभक्त उच्चमावि इलाम र लायन्स मनराम प्रतिष्ठानले शनिबार राजधानीमा गरेको कार्यक्रममा खनालले केहि शक्ति अहिले पनि संविधान जारी हुन नदिने षड्यन्त्रमा लागेको भन्दै उनीहरुको षड्यन्त्र पूरा नहुने बताए ।
एकीकृत माओवादीसहितका केहि दलले संविधानसभा छाडेर आन्दोलनको घोषणा गर्नुले उनीहरु संविधानसभाबाट भाग्न खोजेको प्रष्ट भएको खनालले बताए ।
कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान निमार्णका लागि गम्भीर हुन दलहरुलाई आग्रह गरे । तोकिएको मितिमा संविधान निर्माण हुन नसक्दा जनतामा निराशा बढेको भन्दै उनले दलहरुबीच संवाद, वार्ता र सहमतिबाटै मुलुकले निकास पाउने पनि बताए ।
कार्यक्रममा लायन्स मनराम प्रतिष्ठानका अध्यक्ष रामबहादुर श्रेष्ठले भानुभक्त उच्चमाविको लागि दश थान कम्प्युटर, प्रोजेक्टरसहित खेलकुुदका सामाग्री प्रदान गरेका थिए । – इमेजखबरमा समाचार छ।