बारा । बाराको सिमरामा मालपोत र नापी कार्यालयको थप सेवा केन्द्र स्थापना गर्ने पुरानो सरकारी निर्णय उल्ट्याइएको विरोधमा जारी आन्दोलन शनिबार सातौं दिन पनि कायमै छ ।
प्रदर्शनकारीले बिहानैदेखि राजमार्ग ठप्प पारेका छन् भने सिमराको १२ गाविसमा बजार ठप्प बनाएका छन् । शुक्रबार गृह मन्त्रालयका सहसचिव कृष्णप्रसाद देवकोटाले विज्ञप्ति निकाली तत्काल विरोधका कार्यक्रम स्थगित गर्न आग्रह गरेकोमा प्रदर्शनकारी झनै आन्दोलित बनेका छन् ।
सिमराको चोक-चोकमा प्रदर्शनकारीले नारा जुलुस गरेका छन् । राजनीतिक दलको अगुवाइमा भएको आन्दोलनमा व्यवसायी, नागरिक समाजका अगुवा र संघ-संस्थाको साथ छ ।
सरकारले सिमरा आसपासका १२ गाविसका जनतालाई सेवा सहज बनाउन मालपोत र नापी कार्यालयको सेवा विस्तार गर्ने निर्णय खारेज गरेको जनाएपछि विरोध चर्किएको हो । सरकारले निर्णय फिर्ता नलिएसम्म आन्दोलन चलिरहने उनीहरुको भनाइ छ ।
यसअघि सेवा केन्द्र सिमरामा बिस्तार गर्ने सरकारी निर्णयविरुद्धमा कलैयामा पनि आन्दोलन भएको थियो । इमेजखब्ररमा समाचार छ ।