कांग्रेसले दोस्रो संविधान सभाको निर्वाचनमा आधिकारिक उम्मेदवारलाई अन्र्तघात गरेको आरोप लागेका १ सय ८३ जनालाई क्लिन चिट

काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिले दोस्रो संविधान सभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई अन्र्तघात गरेको आरोप लागेकी नेतृ सुजाता कोइरालासहित १ सय ८३ जनालाइ क्लिन चिट दिएको छ ।
कार्यसमितिको हिजोको बैठकले अनुशासन समितिले कारबाहीका लागि सिफारिस गरेका नेता तथा कार्यकर्तालाई भुक्तान गरिसकेको सजायबाहेकका सजाय फुकुवा गरि पार्टीको सबै पदीय जिम्मेवारी यथावत् वहन गर्न दिने निर्णय गरेको छ ।
बैठकपछि पार्टीबाट जारी विज्ञप्तिमा उनीहरुको कृयाशिल सदस्यता नविकरणका साथै पार्टीको तेह्रौ महाधिवेशनमा सबै पदमा उम्मेदवार हुन पाउने निर्णय भएको उल्लेख छ ।
पार्टी प्रवक्ता दिलेन्द्र वडूले केही सदस्यहरुले थप जाँचबुझ गरेरमात्र माफी दिनुपर्ने माग गरे पनि पार्टीको शिर्ष नेतृत्व र पदाधिकारीहरुले कारबाही फुकुवाको आवश्यकता र औचित्य सम्झाएपछि सर्वसम्मत रुपमा कारबाही फिर्ता गर्ने निर्णय गरिएको बताए ।
यद्यपी पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध वागी उम्मेदवारी दिने र त्यस्ता उम्मेदवारको समर्थक तथा प्रस्तावक बसेकाहरुलाई भने कारबाही यथावत् राखिएको छ ।
क्लिनचिट पाएपछि नेतृ सुजाता कोइरालाले पार्टी सभापति सुशील कोइरालाले उदारता देखाएर कारबाही फिर्ता लिनु स्वागतयोग्य भएको प्रतिक्रिया दिइन ।
उनले पार्टीमा लामो त्याग, तपस्या र जीवनको महत्वपूर्ण समय खर्चेका नेता तथा कार्यकर्तालाई बिना आधार कारबाही गर्दा गाउँ तहसम्म संगठनलाई धक्का लाग्न सक्ने सम्भावना अब टरेको जानकारी दिइन । 
बैठकमा सदस्यहरुले पार्टीको भ्रातृ संस्थाहरुको महाधिवेशन बैशाख अघि नै सम्पन्न गर्नेगरी अघि बढ्न शिर्ष नेताहरुसंग माग गरेका थिए ।

यस्तै बैठकमा संविधान लेखन र दलहरुसँग भइरहेको वार्ताबारे छलफल भयो । इमेजखबरमा समाचार छ ।