आइएसका घाँटी रेट्ने व्यक्ति बेलायती नागरिक रहेको खुलासा

इस्लामिक अतिवादी समूह आइएसले आफ्नो नियन्त्रणमा लिएका व्यक्तिहरुको घाँटी रेटेर हत्या गर्दा मुकुन्डो लगाएर उभिएको देखाइएका व्यक्ति कुवेतमा जन्मिएका बेलायती नागरिक रहेको खुलासा भएको छ ।
आइएसले जिहादी जोन नाम दिएको उक्त व्यक्ति पश्चिमी लन्डनका मोहम्मद इम्वाजी रहेको बीबीसीले जनाएको छ ।
 इम्वाजी आइएसले सार्वजनिक गरेको तस्वीर र भिडियोहरुमा देखाइएका व्यक्ति रहेको र बेलायती सुृरक्षा सर्भिसलाई यसबारे पहिला नै जानकारी रहेको समेत बीबीसीले जनाएको छ । तर, अनुसन्धानका क्रममा रहेकाले उनको नाम सार्वजनिक गरिएको थिएन ।
इम्वाजी अमेरिकी पत्रकार जेम्स फोलीको घाँटी रेटेर हत्या गर्दा गत अगस्टमा पहिलोपटक भिडियोमा देखाइएका थिए । विभिन्न व्यक्तिको हत्याअघि उनले बेलायती लवजमा पश्चिमाहरुलाई धम्की दिने गरेका थिए ।
कम्प्युटर प्रोगामिङको अध्ययन गरेका उनी सन् २०१२ तिर सिरिया गएर पछि आइएसमा आबद्ध भएको विश्वास गरिएको छ । AGENCIES