नेपालगञ्ज – जिल्ला प्रहरी कार्यालय बाँकेका तत्कालीन प्रहरी प्रमुख, प्रहरी उपरिक्षक (एसपी) शेखर कोइराला निलम्बित भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा प्रहरी प्रधान कार्यालयले कोइरालालाई निलम्बन गरेको हो।
नागरिकन्युजमा समाचार छ । जिल्ला प्रहरी कार्यालय बाँके मार्फत अपराध अनुसन्धानका लागि घुमुवामा खटिएका प्रहरी नायव निरिक्षक(सई) सुमन खरेललाई अख्तियार टोलीले गत माघ २३ गते बेलुका २५ हजार घुस सहित नेपालगन्जको एक रेष्टुरेन्टमा फेला पारेको थियो ।
खरेललाई नियन्त्रणमा लिन खोज्दा घुमुवा प्रहरी र अख्तियार टोलीबीच करिव ३ घण्टा घम्साघम्सी चलेको थियो। त्यसक्रममा अख्तियारका केही कर्मचारी समेत घाइते भएका थिए। आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको पहलमा अख्तियार टोली घुमुवा प्रहरीको नियन्त्रणबाट मुक्त भएको थियो।
अख्तियारको काम, कारबाहीमा घण्टौ सम्म अवरोध पुर्याउँदा पनि कुनै कदम नचालेको आरोप तत्कालीन प्रहरी प्रमुख कोइरालाई लागेको थियो।
उक्त घटनाको अनुसन्धान गर्दै आएको अख्तियार केन्द्रीय कार्यालयले सई खरेल, अवरोध गर्ने कार्यमा प्रत्यक्ष संलग्न घुमुवा प्रहरी र प्रहरी उपरीक्षक कोइरालासँग बयान लिँदा घटनामा उनी नै जोडिएपछि निलम्बन गर्न सिफारिस गरेको आयोग स्रोतले जानकारी दियो।
‘घुस लिने खरेल सहित उसलाई छुटाउन खोज्ने प्रहरी र एसपी कोइरालासँगको बयानमा पनि तत्कालीन प्रहरी प्रमुखको कमजोरी देखियो,’ अख्तियार स्रोतले भन्यो ‘अझै विस्तृत अनुसन्धान गर्नुपर्ने भएकाले आयोगले निलम्बनको सिफारिस गर्यो’ र कोइराला फागुन ११ गते नै निलम्बनमा परे।’
घटनाको अघिल्लो दिन मात्र तत्कालीन जिल्ला प्रहरी कार्यालयका प्रमुख कोइरालाको पुर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा सरुवा भएको थियो। उनी बाँकेमै थिए। आयोगको काम, कारबाहीमा प्रत्यक्ष अवरोध पुर्यालएको आरोपमा भेरी अञ्चल प्रहरी कार्यालयले त्यसको भोलीपल्ट ६ जना प्रहरीलाई निलम्बन गरेको थियो । घुससहित पक्राउ परेका खरेललाई आयोगले अनुसन्धानका लागि केन्द्रीय कार्यालयको हिरासतमा राखेको छ, भने निलम्बनमा परेका ६ जना प्रहरीलाई पनि बयानका लागि काठमाडौंमा लगिएको छ । घुस प्रकरणका अन्य ७ जना प्रहरीविरुद्ध पनि अञ्चल प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।
आयोगले आफ्नो काममा अवरोध पुर्यारएको निष्कर्ष निकाल्दै कारबाही गर्न सिफारिस गरेपछि अञ्चल प्रहरी कार्यालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालय बाँकेले पाँच जनाविरुद्ध सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको छ। आयोग स्रोतका अनुसार पत्रकारद्वय तिलक गाउँले र आकाश देवकोटा तथा स्थानीय बासिन्दा रहिम मिया, मुरली कोदार र पाठक थर गरेका व्यक्ति रहेका छन्।
आरोपित पाँचै जनाले घटनामा आफ्नो संलग्नता नरहेको बताएका छन्। ‘मुद्दा दर्ता भएपनि उनीहरुलाई पक्राउ गर्न प्रहरीले अझै पनि आनाकानी गरिरहेको छ,’ आयोग सम्पर्क कार्यालय कोहलपुरका एक कर्मचारीले भने ‘प्रहरीकै आँखा अगाडि उनीहरु खुलेआम हिँडिरहेका छन्।’
चोरी अभियोगमा पक्राउ परेका नेपालगञ्ज निवासी युधिरसिंह ठकुरीका दाजु युवराजसिंहसँग सई खरेलले मुद्दा मिलाइदिन्छु भन्दै २५ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामै पक्राउ गरेको आयोगले दाबी गर्दै आएको छ। नागरिकन्युजमा समाचार छ ।