अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची । स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा अनियमितता र भष्टचार वढिरहेका एक कार्यक्रमका वक्ताले बताएका छन् । उनीहरुले लामो समय सम्म देशमा संक्रमणकाल रहिरहेको भन्दै यसले हरेक निकायमा असर पारेको बताए ।
नेपाल सरकार संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको स्थानीय शासन तथा उत्तरदायि संयन्त्रको सचिवालयको सहयोगमा लुम्बिनी सामाजिक विकास केन्द्रले सहजिकरण गरेको स्थानीय निकायमा कानूनी र नीतिगत पालना व्यवस्था अनुगमन कार्यक्रमको सार्वजनिकिकरण कार्यक्रममा बोल्ने वक्ताले सो कुरामा जोड दिए । उनीहरुले स्थानीय निकासयको निर्वाचन नहुँदा सम्म समस्याहरु यथावत रहने बताए । सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद सापकोटाले स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा कर्मचारी माथि वोझ थपिएकाले धेरै समस्या हुने गरेको बताए ।
नगरपालिकाबाट हुने हरेक गतिविधिलाई पारदर्शी बनाउन आफू लागि परेको बताए । केहि कमिकमजोरी भए सच्चाएर अघि बढ्न हामी तयार छौं उनले भने, सबै कामहरुमा पारदर्शीता जरुरी छ ।
लुम्बिीनी सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक सुरज सारुले सन्धिखर्क नगरपालिका, नौं गाविस र जिल्ला विकास समितिका योजना प्रभावकारीताका विषयमा अनुगमन गर्ने बताए । उनले असुरकोट, नुवाकोट, खिल्जी, पणेना, खिदिम, पोखराथोक, पाली, धातिवाङ्ग, र सूवर्णखाल गाविसमा यो कार्यक्रम लागु गर्ने जानकारी दिए । स्थानीय निकायमा हुने काम पारदर्शी भएका छन वा छैनन्, त्यो सबै जानकारी लिन्छौं उनले भने । उनले कार्य क्षेत्रमा भएका राम्रा नराम्रा काम मिडिया मार्फत बाहिर ल्याउने बताए । उनले यो कार्यक्रम १४ लाख ८१ हजारको लागतमा सञ्चालन हुन लागेको बताए । उनका अनुसार यो कार्यक्रम असार मसान्त सम्म सञ्चालन हुन्छ ।
कार्यक्रममा अनुगमन समितिका नेत्र प्रसाद भट्टराई, एकिकृत योजना समितिका धुव आचार्य, पत्रकार सुर्यप्रसाद भुसाल, लुम्बिनी सामाजिक विकास केन्द्रका कृष्ण पौडेलले बोलेका थिए ।