सन २०२० भित्रै अर्घाखाँची पूर्ण सरसफाई युक्त जिल्ला बन्ने

अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची  ।  अर्घाखाँची जिल्लालाई सन २०२० भित्रै पूर्ण सरसफाईयुक्त बनाउने तयारी भएको छ । खुल्ला दिसामुक्त भइसकेकाले अब पूर्ण सरसफाईतर्फ केन्द्रित हुनु पर्ने भन्दै तयारी थालिएको हो । पूर्ण सरसफाई युक्त जिल्ला घोषणा गर्नका लागि रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न गरिएको छ ।  रणनीतिक योजनाको  ड्राफ्ट् आगामी जिल्ला परिषद्मा पेश गरिने स्थानीय विकास अधिकारी हरिप्रपाद ज्ञवालीले बताए । उनले सबै निकायले आ-आफ्नो क्षेत्रबाट सहयोग पु-याएको खण्डमा निर्धारित समय  भित्रै जिल्ला पूर्ण सरसफाईयुक्त बन्ने विश्वास लिए । 
पूर्ण सरसफाईयुक्त बनाउन प्रत्येक व्यक्तिले आफ्नो आनीवानीमा परिवर्तन गर्नुपर्छ उनले भने, त्यसो गरियो भने निर्धारित मितिमै लक्ष्यमा पुग्न गाह्रो छैन । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख इन्जिनियर राजेन्द्र न्यौपानेले सरसफाईको लागि सबै भन्दा आवश्यक पर्ने तत्व पानी भएको भन्दै जिल्लाका केहि ठाउँमा पानीको हाहाकार भएको बताए । सरसफाईको लागि पानी नै मूख्य चुनौती बनिरहेको छ उनले भने, लिफ्ट सिस्टम पनि दीगो हुँदैन, केहि ठाउँमा निकै समस्या छ ।मोटर विग्रीरहने भएकाले ग्रामिण क्षेत्रमा लिफ्टिङ्ग गर्दा झनै झण्झटिलो हुने बताए । 
 जिल्लाका केहि ठाउँका मुहान सुकेका कारण पानीको समस्या हुँदै आएको छ । बल्कोट केरुङ्गा,मरेङ्ग वाङ्ला, गोखुङ्गा, खिल्जी असुरकोट लगायतका केहि गाविसमा पानीको अभाव छ । कार्यक्रममा सरसफाई विज्ञ चन्द्र विष्ट र युएन ह्याविट्याटका  गोविन्द रोकायाले सरसफाईका छ सूचकका बारेमा जानकारी दिँदै जनचेतनाको माध्यमबाट हरेक नागरिकलाई जाकरुक बनाउनुपर्ने कुरामा जोड दिए । जिल्ला विकास समितिका सूचना शाखाका शेषकान्त घिमिरेले कार्यक्रमको सञ्चालन गरेका थिए ।

अन्य समाचारहरु