सरिता गिरी नेतृत्वको नेपाल सदभावना पार्टी र अनिलकुमार झा नेतृत्वको संघीय सदभावना पार्टीबीच एकीकरण

काठमाडौ  – सरिता गिरी नेतृत्वको नेपाल सदभावना पार्टी र अनिलकुमार झा नेतृत्वको संघीय सदभावना पार्टीबीच एकीकरण भएको छ । दुवै पार्टीको छुट्टा-छुट्टै बसेको केन्द्रीय समितिको बैठकले एकीकरण गर्ने निर्णय गरेको सोमबार जारी संयुक्त विज्ञप्तीमा जनाइएको छ ।
ईकन्तिपुरमा समाचार छ । एकीकरणपछि पार्टीको नाम ‘नोपाल सदभावना पार्टी’ र चुनाव चिन्ह ‘हात’ हुनेछ । पार्टीको अध्यक्षमा झा र सहअध्यक्षमा गिरी रहने छन् । एकीकृत पार्टीको विधान, घोषणापत्र, नियमावली लगायतका कागजात आजै निर्वाचन आयोगमा बुझाईको झाले बताए ।
पार्टीको कार्यालय संघीय सदभावना पार्टीको कार्यालय रहेको शान्तिनगरमा र माथि रातो, बिचमा सेतो तथा तल हरियो हुने गरि तिरंगा झण्डा रहनेछ । मधेसवादी पार्टी खाली फुट्छ मात्र, जुट्दैन भन्ने नकारात्मक प्रचारलाई आफूहरुको एकताले चिर्ने र अन्य दललाई पनि एकताका लागि प्रेरित गर्ने झाले विश्वास व्यक्त गरे ।
नेतृ गिरीले पनि दुई पार्टीको एकीकरणले सकारात्मक सन्देश प्रवाहित गर्ने भन्दै दर्शन र सिद्धान्त मिल्ने मधेसका पार्टीहरु एकजुट हुनुपर्ने बताईन । उनले स्वर्गीय गजेन्द्रनारायण सिंहले स्थापना गरेको पार्टीको नाम र झण्डा आफूले एक्लै जोगाइ रहेकोमा त्यो इतिहासलाई जोगाउने जिम्मेवारीमा आफूहरु अब सँगै उभिएको भनिन् ।
‘संविधानसभाबाट संविधान र संघीयताको मुद्दा उठाउने स्वर्गीय सिंहले स्थापना गरेको पार्टीको उपस्थिति संविधानसभामा थिएन,’ झाले भने-‘म सिंहको अनुयायी भएकाले आफूले स्थापना गरेको पार्टीको नाम र झण्डालाई पछाडि राखेर एकीकरण गरेको छु ।’संविधानसभामा झा नेतृत्वको पार्टीबाट एकजना सभासद छन् ।
सिंहले स्थापना गरेको पार्टी टुक्रा-टुक्रा भएर राजेन्द्र महतो, अनिल झा, सरिता गिरी, विकास तिवारी र श्यामसुन्दर गुप्ताको नेतृत्वमा छुट्टा छुट्टै पार्टी सञ्चालित छ । झा र गिरी एक भएपछि सदभावाना पार्टी अझै ४ वटा रहेको छ । ईकन्तिपुरमा समाचार छ ।