पूर्वी पहाडी जिल्लाहरुमा हिमपातसँगै भएको वर्षाले जनजीवन प्रभावित

ताप्लेजुङ । पूर्वी पहाडी जिल्लाहरुमा हिमपातसँगै भएको वर्षाले जनजीवन प्रभावित भएको छ ।
ताप्लेजुङ, पाँचथर, इलाम, तेर्‍हथुम, संखुवासभालगायतका जिल्लाका लेकाली क्षेत्रमा बाक्लो हिमपात भएको हो । अन्य क्षेत्रमा हावाहुरी सहित वर्षा भएको छ ।
गर्मी चढ्नै लाग्दा मौसममा आएको परिवर्तनले चिसो बढाएको छ । लेकाली क्षेत्रका पशुपालक कृषकलाई हावाहुरी र पानीले समस्यामा पारेको स्थानियले बताएका छन् ।
अन्यत्रका कृषकलाई भने लामो समयको खडेरीपछि भएको वर्षाले राहत मिलेको छ ।
ताप्लेजुङ स्थित पाथीभरा क्षेत्रको भालुगौंडेसम्म हिउँ परेको छ । हिमाली बस्ती ओलाङचुङगोला र घुन्सामा तीन दिन देखिनै लगातार हिमपात भईरहेको छ ।
घुन्सामा दुई फिटभन्दा बढी हिउँ जमेको छ । ओलाङचुङगोला र पाथीभराको माथिल्लो फेदीमा तीन फुटसम्म हिउँ जमेको प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।
उता, संखुवासभाको पर्यटकीय क्षेत्र गुफा बजारसहित चौकी, मंगलबारे लगायत क्षेत्र हिउँले ढाकेको छ । इमेजखबरमा समाचार छ ।