टर्किस एयर दुर्घटना: त्रिभुवन विमानस्थल अझै ठप्प

काठमाडौ – टर्किस एयरको दुर्घटनाग्रस्त विमान धावनमार्गको किनारमै अड्किएपछि बुधबार बिहानैदेखि नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क टुटेको छ।
कान्तिपुरमा समाचार छ। बिहीबार ५ बजेसम्मका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको छ। शुक्रबार पनि विमानस्थल सुचारु हुने सम्भावना न्यून रहेको नागरिक उड्डयन प्राधिकरण अधिकारीहरू बताउँछन्। नेपाल एयरलाइन्सले शुक्रबारसम्मका आफ्ना सबै अन्तर्राष्ट्रिय उडान रद्द गरिसकेको छ।
विमानस्थल अधिकारीहरू बुधबार दिनभर रनभुल्ल थिए। ‘के गर्ने भनेर हस्याङफस्याङ भयो,’ एक अधिकारीले भने, ‘उपाय ननिस्केपछि केही होला कि भन्ने आसमा बिहीबार साँझसम्म उडान रोकिएको हो।’
दुर्घटनाग्रस्त विमानका अगाडि-पछाडि दुवैतिरका पखेटाले धावनमार्ग छोएका छन्। ‘पखेटा खोलेर अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन -आईकाओ) लाई विशेष आग्रह गरी धावनमार्ग खुलाउन सकिन्छ कि भन्ने विकल्पमा पनि छलफल भयो,’ विमानस्थलका एक अधिकारीले भने ।
‘तर एयरबसका कर्मचारी आएर अनुसन्धान गरी दुर्घटनाको कारण निक्र्योल नगरुन्जेल ठाउँ सार्न मिल्दैन भन्ने तर्क पनि आयो,’ उनले भने ।
अधिकतम उडान वजन क्षमता २ लाख ५ हजार केजी भएको विमान पन्छाउन सजिलो छैन। ‘हामीसँग त्यसको न साधन छ, न त जनशक्ति नै। त्यसमाथि पन्छाउने वा नपन्छाउने भन्नेमा डरै छ,’ विमानस्थलकै कर्मचारीहरू भन्छन्। बुधबार साँझतिर टर्किस एयरकै विशेष पहलमा भारतीय सैनिकहरूको हर्कुलस जहाज ल्याउने टुंगो लागेको छ। एयरक्रापmट रिमुभल किट -जहाज तान्ने उपकरण) सहितको उक्त जहाज बिहीबार अवतरण हुनेछ।
 ‘तर विमानमा खराबी आयो वा चालकको कमजोरी रह्यो भन्ने पहिला पत्ता लगाउनु जरुरी हुन्छ,’ नेपाल एयरलाइन्सका एक सिनियर क्याप्टेन भन्छन्, ‘टर्किस एयरले ठाउँ सार्न अनुमति दिए पनि विमान निर्माता एयरबसले रोक्न सक्छ। चालकको गल्ती ठहरे उसलाई कारबाही गर्नुपर्ने हुन्छ। विमानमा खराबी भेटिए त्यो शृंखलामा बनेका सबैलाई संसारभरि नै ग्राउन्डेड गर्नुपर्ने हुन सक्छ।’ ए-३३० विमान टर्किस एयरले १० महिनाअघि किनेको हो।
दुर्घटनाका कारण बुधबार ४० अन्तर्राष्ट्रिय उडानका करिब १५ हजार यात्रु बिचल्लीमा परे। बिहीबार करिब त्यति नै यात्रु प्रभावित हुनेछन्। बाहिरबाट आउने यात्रु उसरी नै ट्रान्जिट र सम्बन्धित मुलुकमा रोकिएका छन्।
‘देशकै लागि लाजमर्दो अवस्था आयो,’ नेपाल एयरलाइन्सका विमानस्थलस्थित ड्युटी अफिसर माधवराज लोहनीले भने, ‘यसले समानान्तर एवं फराकिला धावनमार्ग र अर्को अन्तर्राष्ट्रिय विमानस्थल चाहिने रहेछ भन्ने सिकाएको छ। कान्तिपुरमा समाचार छ।