काठमाडौं – तीन दिनदेखि बन्द रहेको त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल आज दिउसोदेखि सञ्चालनमा आउने नागरिक उड्डयन अधिकारीले जनाएका छन्। १० बजे खुल्ने भनिए पनि शनिबार बिहानसम्म खाल्डोमा धसिएको जहाजको पाङ्ग्रालाई मात्र माथि निकाल्न सकेका कारण दिउसोदेखि मात्र फ्लाइट सुचारु हुने विमानस्थल प्रबन्धक पूर्ण चुडालले जानकारी दिएका छन्।
नागरिकन्युजमा समाचार छ । जहाजलाई खाल्डोमा धसिएको स्थानबाट धावनमार्गमा निकालिसकिएको छ। ‘नेपाल एयरलाइन्सका दुई पुसब्याकले जहाजलाई तान्ने काम भइरहेको छ। अब विज्ञको टोलीले जहाजको अवलोकन गरेपछि त्यसमा भएको सामानहरु हटाइन्छ अनि पार्किङमा पुर्याइनेछ’, उनले नागरिकन्युजसँग भने, ‘त्यसका लागि डेढ घन्टा जति लाग्न सक्छ।’
जहाज पार्किङमा पुर्याएपछि विमानस्थल खुल्नेछ।
अहिले काठमाडौं विमानस्थलबाट अन्तरार्ष्ट्रिय उडान भर्ने जहाज छैनन्। ‘१२-१ बजेदेखि बाहिरबाट आउने जहाजलाई अनुमति हुन सक्छ’, चुडालले भने। अन्तरार्ष्ट्रिय उडान काठमाडौं आउने सबैभन्दा नजिकको रुट भारतको नयाँ दिल्ली हो। त्यहाँबाट काठमाडौं आइपुग्न १ घन्टा २५ मिनेट लाग्छ।
एयरलाइन्स कम्पनीहरुले यात्रुलाई आज साँझदेखि विमानस्थल खुल्ने भनेर सूचित गरेका छन्।
साँझबाट फ्लाइटहरु सञ्चालन हुने सम्भावना प्रबल रहेको एयरलाइन्स अपरेटर एशोसिएसन नेपालका अध्यक्ष भरतकुरमार श्रेष्ठले बताए। नागरिकन्युजमा समाचार छ ।