सहमतिमै संविधान जारी गर्ने सैद्धान्तिक सहमति गर्दै सहमति जुटाउने जिम्मेवारी प्रमुख ४ जना नेतालाई

काठमाडौ  – डेढ महिनाको राजनीतिक गतिरोध तोड्दै शनिबार बिहान बसेको प्रमुख राजनीतिक दलको बैठकले सहमतिमै संविधान जारी गर्ने सैद्धान्तिक सहमति गर्दै सहमति जुटाउने जिम्मेवारी प्रमुख ४ जना नेतालाई दिएको छ ।
ईकन्तिपुरमा समाचार छ । बैठकपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले डेढ महिनादेखि हुन नसकेको सम्वाद आज सौहार्दपूर्ण र सकारात्मक ढंगले भएको बताए । ‘सहमतिबाटै संविधान बनाउने र त्यो सहमति छिट्टै गर्ने सबैको बिचार आयो,’ उनले भने-‘सहमति गर्ने जिम्मा चार शक्तिका चार जना नेतालाई दिइएको छ । कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली,एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी मोर्चाबाट विजय गच्छदारले संविधानका विवादित विषयमा सहमतिका छलफल गर्नेछन् । ‘उहाँहरु आजैबाट छलफल थाल्नुहुने हुनेछ । र, आवश्यकता अनुसार अन्य नेतालाई पनि सहभागी गराउन सक्नु हुनेछ,’ श्रेेष्ठले भने । आजको बैठक संविधानको अन्तरवस्तुका मुद्दामा खासै प्रवेश नगरेको उनले बताए ।
कांग्रेस महामन्त्री एवं उपप्रधानमन्त्री प्रकाशमान सिंहले छलफल सकारात्मक रहेको र थप छलफल आजैबाट शीर्ष तहमा हुने बताए । उनले फागुन-२६ गतेसम्म टुङ्गोमा पुग्ने गरी शीर्ष तह छलफलमा केन्द्रीत हुने जानकारी दिए । बिहान ९ बजे बसेको बैठकमा कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका नेताहरुको उपस्थिति थियो । बैठकमा अस्वस्थ्यतका कारण एमाले अध्यक्ष केपी ओली भने अनुपस्थित थिए । एमालेबाट उपाध्यक्ष एवं गृहमन्त्री बामदेव गौतम, महासचिव ईश्वर पोखरेल सहितका नेता सहभागी थिए । वरिष्ठ नेता माधव नेपालपनि बैठकमा गाएका थिएनन् । उनले आफूलाई बैठकबारे जानकारी नभएको बताएका छन् । ईकन्तिपुरमा समाचार छ ।