चार दिनदेखि ठप्प रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हिजो बेलुकीबाट सुचालु भएको छ ।
विमानस्थलको धावनमार्गमा दुर्घटनाग्रस्त टर्किस एअरलायन्सको विमानलाई त्यहाँबाट हटाइएपछि विमानस्थल सुचालु भएको हो ।
विमानस्थल सुचालु भएसँगै तीन दिनसम्म चौविसै घण्टा विमान उडान भर्ने र अवतरण गर्ने गरी तयारी गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
भारतीय र नेपाली प्राविधिक टोलीको लगातारको प्रयासलाई टर्कीबाटै आएका ७ जना प्राविधिकहरुले सहयोग गरेपछि दुर्घटनाग्रस्त विमानलाई धावनमार्गबाट हटाइएको हो ।
धावन मार्गबाट विमान पन्छाएर पार्किङस्थलमा पुर्याएसँगै अन्तर्राष्ट्रिय उडान सुचालु भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
विमानमा रहेको तेल र कार्गोको सामान निकालेर विमान धकेल्दै र तान्दै पार्किङस्थलमा पुर्याइएको हो ।
११ सदस्यीय चालक दलसहित २ सय २५ यात्रु बोकेर टर्कीको इस्तानबुलबाट आएको विमान बुधवार विहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएको थियो ।
दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको विमान अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट पन्छाएपछि गए रातिदेखि सञ्चालन भएको विमानस्थलबाट आज बिहान ६ बजेसम्ममा ३० अन्तर्राष्ट्रिय उडान र अवतरण भएका छन् ।
विमानस्थल सञ्चालन हुनेबित्तिकै राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले सबैभन्दा पहिले नयाँदिल्ली उडान गर्नाका साथै त्यहाँबाट करिब १५० यात्री बोकेर राजधानी फर्केको नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयले जनाएको छ ।
सोही एयरलाइन्सको विमान मलेसियाको क्वालालम्पुरतर्फ प्रस्थान गरिसकेको तथा फर्केपछि अर्को गन्तव्यमा प्रस्थान गर्ने उक्त कार्यालयका ड्युटी अफिसर केशव भट्टराईले जानकारी दिए ।
कतार एयरलाइन्सको एउटा, चाइना साउदर्नले तीन वटा, चाइना इस्टर्नले पाँच वटा, फ्लाई दुबईले दुई वटा र ओमान एयरको एउटा उडान भइसकेको छ – उनले भने । इत्तेहाद एयरलाइन्स प्राविधिक खराबीका कारण मध्यआकाशबाट विमानस्थलमै पुनः अवतरण भएको जानकारी दिँदै झन्डै पाँच हजार यात्रीको आगमन र प्रस्थान भएको उनले बताए ।
गत बुधबार बिहान टर्किस एयरलाइन्सको विमान धावनमार्गमा दुर्घटनाग्रस्त भएपछि चार दिनसम्म अवरुद्ध भएको मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल साँझ ७ बजेदेखि सञ्चालन भएको हो । रासस