राप्रपा र राप्रपा नेपालबीच पार्टी एकताको प्रयास सुरु, वार्ता टोली गठन

राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी एकताको लागि महामन्त्री दीपक बोहराको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति गठन गरेको छ। 
पार्टीको आइतबार बसेको पदाधिकारी बैठकले राप्रपा नेपालसँग पार्टी एकताका लागि सो वार्ता टोली गठन गरेको हो। 
सो समितिमा अर्का महामन्त्री बुद्धिमान तामाङ, प्रवक्ता ठाकुरप्रसाद शर्मा र सहप्रवक्ता किरण गिरी सदस्य छन्। 
पार्टीका सहप्रवक्ता गिरीले भोलि बैठक बसेर दुई पार्टीबीचको एकता प्रक्रिया, सैद्धान्तिक वैचारिक मुद्दामा छलफल गरेर अगाडि बढ्ने जानकारी दिए। 
यसैबीच राप्रपा नेपालका सहमहामन्त्री राजाराम श्रेष्ठले विगतमा समान पृष्ठभूमि भएका पार्टी र वर्तमान समयमा राष्ट्रियता कमजोर भएकाले दुई पार्टीबीच एकताको पहल थालिएको बताए। 
राप्रपा नेपालका अध्यक्ष  कमला थापाले हालैमात्र राप्रपा अध्यक्ष पशुपति शमशेर राणा र राप्रपाका नेता तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई भेटेपछि एकताका लागि वार्ता सुरु हुन लागेको हो ।
राप्रपा र राप्रपा नेपालबीच यसअघि पनि पटक पटक पार्टी एकता बारे छलफल गर्न वार्ता भएको थियो । तर, राजसंस्थाका विषयमा सहमति हुन नसक्दा एकता प्रक्रिया रोकिँदै आएको छ ।
राप्रपा नेपाल संवैधानिक राजसंस्थाका पक्षमा रहेको छ भने राप्रपा गणतन्त्रमा गइसकेको छ । रासस