काठमाडौ – प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच जेठ १५ मा संविधान जारी गर्ने गरी प्रमुख दलबीच वार्ता अघि बढाउन कुराकानी भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भएको कुराकानी सहमतिका लागि छलफल तीब्र पार्ने समझदारी भएकोछ ।
कान्तिपुर दैनिकमा समाचार छ । प्रमुख दलबीच औपचारिक वार्ता भएको अर्कोदिन दुई नेताबीच करिब एकघण्टा भएको कुराकानी सहमतिका लागि वातावरण बनाउने र सहमतिमा केन्दि्रत भएको थियो । दुई नेताबीच प्रमुख दलका शिर्ष नेताबीच छुट्टाछुट्टै छलफल गरी सहमतिको प्रयास गर्ने कुरा भएको छ । छलफलमा सहभागी कांग्रेस नेता एबं वन मन्त्री महेश आचार्यले बिश्वासको वातावरण बनाउने बिषयमा दुई नेताबीच छलफल भएको जानकारी दिए । ‘कुराकानी सकरात्मक ढंगले अघि बढेको छ’ उनले भने, ‘बिश्वासको वातावरण बनाएर समझदारी खोज्ने गृहकार्य हो ।’
कोइरालाले आफ्नो नेतृत्वमा संविधान जारी गर्न गृहकार्य थालेको उल्लेख गर्दै देशलाई निकास दिन जेठ १५ मा संविधान जारी गर्नुपर्ने उल्लेख गरेका थिए । उनले दाहाललाई संविधान छिटो जारी गर्न महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे । संविधान जारी भएपछि मात्र मुलुकले निकास पाउने भन्दै कोइरालाले दाहाललाई नेतृत्व लिन आग्रह गरे । ‘म सहमतिका आधारमा संविधान जारी होस् भन्ने चाहन्छु, त्यसका लागि प्रचण्डजीको पनि महत्वपूर्ण भूमिका हुन्छ’ कोइरालाको भनाइ थियो, ‘तपाई आन्दोलन घोषणा गर्ने कुरा नगर्नुस्, सहमति गरेर अघि जाऔ ।’ उनले प्रमुख दलका शिर्ष नेताबीच अनौपचारिक कुरा गरेर मात्र सहमतिमा पुग्न सकिने बताएका थिए ।
शनिबार भएको वार्ताले सहमतिको जिम्मा शिर्ष नेतालाई दिएको थियो । दाहालले संविधानसभामा बिपक्षीको स्थान नभएपछि आन्दोलनमा जानु परेको उल्लेख गर्दै सहमतिकै लागि आफूले प्रयास थालेको बताए । ‘बहुमतीय प्रक्रियाले समस्या समाधान गर्दैन, त्यसकारण सहमतिका आधारमा संविधान जारी गर्ने बाटोमा जाऔ’ दाहालको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिब चूडामणि खडाले भने, ‘संघीयतालगायतका बिषयमा प्याकेजमा सहमति गरौ, त्यो संभब छ । प्रधानमन्त्रीज्यूले सहमतिका लागि अझै प्रयास गर्न आवश्यक छ ।’ दाहालले एमाले शिर्ष नेताहरु बैठकमा सहभागी हुन नसक्नुको कारणबारे जिज्ञासा राखेका थिए ।
बिगत केही समययता दाहाल र कोइरालाबीच भएका अनौपचारिक वार्ता सकरात्मक भएको नेताहरुको दाबी छ । कोइराला आफ्नो नेतृत्वमा संविधान जारी गरी पार्टीको महाधिवेशनमा जाने मनस्थिति देखिएकाले दाहालसंग वार्ता बाक्लो बनाएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।