धादिङको पीडा पुकुनमा विष मिसिएको गहुँको रोटी खाँदा एकै परिवारका ६ जनाको मृत्यु

धादिङ  । धादिङको पीडा गाउँ विकास समितिको वडा नम्बर-८ पुकुनमा विष मिसिएको गहुँको रोटी खाँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ भने ११ जना गाउँले बिरामी परेका छन् ।
मृत्यु हुनेहरुमा ६२ वर्षीय सञ्जबहादुर स्याङ्तान, उनकी बुहारी फूलमाया, ७ वर्षीय नातिनी सविता, नातीहरु ५ वर्षीय रमेश, ५ वर्षीय अर्जुन र २ वर्षीय अनिल स्याङ्तान रहेका छन् ।
रोटी खाएपछि बिरामी परेका ३ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो भने अन्यको घरमै मृत्यु भएको हो । बीउका लागि राखिएको गहुँ पिसेर रोटी खाँदा सो घटना भएको हो ।
किरा लाग्नबाट जोगाउन बीउमा विष हालेर राखिएकोमा सोही गहुँ पिसेर खाँदा गाउलेहरुको अकालमा ज्यान गएको हो । यद्यपि, विषादी हालेको गहुँ पखालेर घट्टमा पिस्न लगेको बताइएको छ ।
गहुँ पिसेको ज्यालाबापत पिठो लिएका घट्ट मालिक तिलकबहादुर दोङ र उनको परिवारका ४ जना, उनका दाइ रिबहादुर दोङ र ६ छिमेकी रोटी खाएपछि बिरामी परेका छन् । उनीहरुको गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । इमेजखबरमा समाचार छ ।