विगत लामो समयदेखि पश्चिम नेपालका भारतीय भुपु सैनिकका लागि प्रतिक्षाको विषय बनेको भारतीय स्थायी पेन्सन क्याम्पको सपना अब पूरा भएको छ। बुटवलको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने भारतीय स्थायी पेन्सन क्याम्प बुटवलमा स्थापना भएपछि भूपूहरुको वर्षौदेखिको सपना पनि पुरा हुनेछ।
सेतोपाटीमा समाचार छ । बुटवलमा स्थायी पेन्सन क्याम्प निर्माण हुन सके ३५ हजार भन्दाबढि भुपु सैनिकले पेन्सन लगायतका बिभिन्न सुविधा प्राप्त गर्ने छन्। १ अर्ब २८ करोड रुपैयाँको लगानीमा भारतीय स्थायी पेन्सन क्याम्प निर्माण भएपछि भारतबाट वार्षिक ५ अर्ब भन्दा बढी रूपैया बुटवलमा आउने छ।
तर, यसका लागि अझैपनि आवश्यक जग्गा अभाव देखिएको छ। सो परियोजना बुटवलमा सफल पार्ने हो भने तत्काल आवश्यक जग्गा व्यबस्थापन गर्नुपर्ने आवश्यक्ता रहेको भुपु सैनिक कल्याणकारी महासंघले जनाएको छ। १ सय २८ करोडको परियोजना सफल पार्न यहाँका भुपु सैनिक कल्याणकारी महासंघ लगायतका संघ संस्थाले आवश्यक पहल सुरू गरेको पनि महासंघले जनाएको छ।
जिल्ला सैनिक बोर्ड बुटवल ४ फुलबारीमा पत्रकार सम्मेलन गरि महासंघले जग्गा प्राप्तीका लागि सहयोग गर्न सबैलाई आग्रह गरेको छ। संघले जग्गा प्राप्तीका लागि सरकारसँग पनि माग गरेको छ।
हाल जिल्ला सैनिक बोर्ड रहेको स्थानमा करिब १ बिगाहा जग्गा रहेको र थप १५ कठ्ठा जग्गा सोहि स्थानमा उपलब्ध भएमा परियोजना बिगतमा जस्तो फर्केर नजाने भुपु सैनिक संघका महासचिव कुलबहादुर केसीले बताए। केसीका अनुसार २०६० सालमा आएको परियोजना नेपाल सरकारले स्वीकृत गरिसकेपछि जग्गा उपलब्ध गराउन नसक्दा फिर्ता गएको थियो।
अब कुनैपनि हालतमा फुलबारीमै जग्गा उपलब्ध गराई परियोजना पूरा गर्ने अठोटका साथ लागेको भुपूहरुले बताएका छन्। स्थायी पेन्सन क्याम्पसँगै निःशुल्क सैनिक अस्पताल, सैनिक विद्यालय आदि निर्माण गरिने हुँदा यसबाट यहाँका जनताले प्रत्यक्ष फाइदा लिनुका साथै यसक्षेत्रको आर्थिक सामाजिक विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।