काठमाडौं – स्वाइनफ्लुग्रस्त ४८ वर्षीय पुरुषको ओम अस्पतालमा मंगलबार राति मृत्यु भएको छ। उनी केही दिनदेखि भेन्टिलेटरमा थिए।
गत सोमबार थुकको नमुना परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा स्वाइन फ्लु पुष्टि गरेको हो। स्वाइन फ्लुले राजधानीका अस्पतालमा मर्नेहरूको संख्या तीन पुगेको छ। उनलाई दम, श्वाससम्बन्धी रोग थिएन, उनी स्वाइन फ्लु जोखिम समूहका थिएनन्, अस्पतालका मेडिकल डाइरेक्टर डा. हरीश जोशीले भने, ‘बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका स्टाफलाई साताभर अनुगमन गर्नेछौं।’
रुघाखोकीको लक्षणसहित अस्पताल आएका ती व्यक्तिको अवस्था बिग्रन थालेपछि स्वाइनको आशंकामा आइसोलेट आईसीयूमा राखिएको थियो। उनकी पत्नी र छोरीको समेत स्वाइन फ्लु परीक्षण गरिएको र उनीहरू संक्रमणमुक्त रहेको डा. जोशीले जनाए। कान्तिपुर दैनिकमा समाचार छ ।