काठमाडौं – अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम पार्टी एकीकरणको अन्तिम चरणमा पुगेका छन्। खस समावेशी पार्टी र समाजवादी पार्टीबीच एकीकरण गर्ने सहमति भएको थियो।
एकीकृत पार्टीको अध्यक्षमा उपेन्द्र यादव रहने र संघीय समाजवादीका अध्यक्ष अशोक राई पार्टीका वरिष्ठ तथा संसदीय दलको नेता बन्ने समझदारी बनेको छ। झन्डा अहिले संघीय समाजवादी पार्टीको रहने र चुनाव चिह्न फोरमको ‘बलिरहेको मसाल’ रहने प्रस्ताव गरिएको छ।
समाजवादी पार्टी र खस समावेशी पार्टीबीच यसअघि नै वार्ता भई एकीकरण गर्ने सहमति भइसकेको छ। ‘दुई पार्टीबीच एकता वार्तालाई वैचारिक राजनीतिक निष्कर्षमा पुर्याउनका साथै राष्ट्रिय राजनीतिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्न दुई पार्टीबीच एकीकरण गर्ने सहमति भएको छ,’ यसअघि भएको सहमतिपत्रमा छ। समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठ र खस समावेशीका महासचिव परशुराम बस्नेतले हस्ताक्षर गरेका छन्। कान्तिपुर दैनिकमा समाचार छ ।