काठमाडौं । व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले द्धन्दकालीन घट्नामा दोषी रहेको आरोपमा बेलायतमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामालाई नेपाल ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
आज बसेको समितिको बैठकले द्धन्दका घटनाबारे छाननिब गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भईसकेकाले लामालाई स्वदेश फर्काउन निर्देशन दिएको हो ।
लामालाई नेपाल फर्काउने विषयमा सरकार गम्भिर नभएको भन्दै समितिमा आलोचना भएको थियो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै समितिका सभापति सुशील श्रेष्ठले राष्ट्रियष्ता र सर्वभौमिकता माथि नै प्रश्न उठ्ने गरी नेपाली सेनाका बहालवाला कर्णेललाई अन्य राष्ट्रले पक्राउ गर्दा समेत सरकारले पहल गर्न नसक्नु दुखद भएको बताए ।
बैठकमा सरकारका तर्फबाट जवाफ दिंदै कानुनमन्त्री नरहरी आचार्यले कर्णेल लामालाई स्वदेश फर्काउन सरकारले सबै प्रयास गरिरहेको र समितिको निर्देशनले थप सजिलो हुने बताए ।
उनले सरकारले लामालाई फर्काउन छुट्टै समिति बनाएर काम गरिरहेको समेत बताए ।
यसअघि बैठकमा बोल्दै कांग्रेस उपसभापति एंव सभासद रामचन्द्र पौडेलले बेलायतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको बताए ।
उनले सरकार पनि कुटनैतिक पहलमा असफल भएको भन्दै यस घटनालाई गम्भिरताका साथ लिन आग्रह गरे ।
बैठकमा बोल्ने सबै सदस्यहरुले लामालाई नेपाल फर्काउन माग गरेका थिए । इमेजखबरमा समाचार छ ।