काठमाडौं । लामो समयपछि नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुबीच संविधान लेखनको विषयमा छलफल भएको छ ।
एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा आज दुई दलका शीर्ष नेताहरुबीच संघीयताको विषयमा सहमति खोज्नेबारे छलफल भएको हो ।
माघ ५ गते संविधानसभा बैठकमा भएको विरोध र तोडफोडपछि दुई दलका नेताहरुबीच औपचारिक संवाद भएको थिएन ।
आजको बैठकमा दुबै दलले संघीयताबारे आ-आफ्नो दृष्टीकोण प्रस्तुत गरेका थिए ।
एकीकृत माओवादीका नेताहरुले ६ वा नौ प्रदेश बनाउने विषयमा आफुहरु खुल्ला रहेको भन्दै प्रदेशको नामांकन र सिमांकनको सन्दर्भमा भने पुरानै अडान दोहोर्याएका थिए ।
यस्तै एमाले नेताहरुले राज्य पुनर्संरचनाको सन्दर्भमा सहमति खोज्ने गरी अघि वढ्न तयार रहेको जनाउँदै नामांकन र सिमांकनलाई प्रतिष्ठाको विषय नबनाउन आग्रह गरेका थिए ।
बैठकपछि दुबै दलका नेताहरुले लामो समयपछि वार्ता हुनुलाई सकारात्मक भन्दै विषय केन्द्रीत भएर छलफल अघि वढेको जनाएका छन् ।
उनीहरुले दुबै दलले सहमतिका लागि अधिकतम् प्रयास गर्ने निर्णय भएको भन्दै सहमतिमा संविधान जारी गर्ने गरी अघि वढ्ने समेत जनाएका छन् ।
आजको बैठकमा एमालेबाट अध्यक्ष ओली, उपाध्यक्ष विद्या भण्डारी, महासचिव इश्वर पोखरेल र नेता अग्नी सापकोटा सहभागी थिए ।
यस्तै, एकीकृत माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता डा. बाबुराम भट्टराई उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा र नेता टोपबहादुर रायमाझी सहभागी थिए । इमेजखबरमा समाचार छ ।