सिरियामा जारी हिंसा अन्त्यको लागि ठोस कदम चाल्न नसकेको भन्दै राष्ट्रसंघको आलोचना

सिरियामा जारी हिंसा अन्त्यको लागि ठोस कदम चाल्न नसकेको भन्दै सहायता समुहले संयुक्त राष्ट्रसंघको आलोचना गरेको छ ।
सिरियामा द्धन्दको चपेटामा परेका नागरिकहरुलाई सहायता गर्ने सम्बन्धी आफ्नै संकल्प प्रस्ताव पुरा गर्न नसकेको भन्दै राष्ट्रसंघ सुरक्षा परिषदको आलोचना भएको हो ।
सिरियाली हिंसापिडितहरुलाई मानविय सहायता उपलब्ध गराँउदै आएका सेभ द चिल्ड्रेन, अक्सफाम लगायतका २१ वटा सहायता संस्थाको समुहले राष्ट्रसंघको भुमिकाप्रति आलोचना गरेका हुन् ।
सन् २०११ को मार्च महिनामा सिरियामा हिंसा सुरु भएपछि लाखौं जनता विस्थापित भइसकेका छन् । केही सहायता संस्थाहरुले त झण्डै ६० प्रतिशत सिरियाली जनता हिंसाबाट पीडित बनेको बताएका छन् ।
चर वर्ष लामो हिंसाको क्रममा गत वर्ष सबैभन्दा बढीले ज्यान गुमाएका थिए । तर राष्ट्रपति बशार अल असाद तथा अन्य विद्रोही समुहहरुलाई युद्धविराम गराउन वा सैन्य गतिविधि निस्तेज पार्न राष्ट्रसंघ र शक्ति राष्ट्रहरुले ठोस पहल गर्न सकेका छैनन । एजेन्सी