बालिकालाई बलात्कार गरी मृत्युबरण गर्न बाध्य बनाउनेलाई कडा कारवाहीको माग राखेर बारामा प्रदर्शन जारी

बारा  । बालिकालाई बलात्कार गरी मृत्युबरण गर्न बाध्य बनाउनेलाई कडा कारवाहीको माग राखेर बारामा आज पांचौं दिन पनि प्रदर्शन भइरहेको छ ।
बेटी बचाउ संघर्ष समितिलगायत बिभिन्न संघ संस्थाको सहभागीतामा जिल्लाको बिभिन्न स्थानमा प्रदर्शन गरिएको हो ।
सदरमुकाम कलैयामा बालिकाको शव सडकमा राखेर प्रदर्शन भईरहेको हो ।
हिजोबाट जितपुर, अमलेखगञ्ज, सिमरा, निजगढलगायतका स्थानमा पनि सर्वसाधारण प्रदर्शनमा उत्रिएका छन् ।
कलैया नगर क्षेत्रमा सिसिटिभि क्यामरा जडान गर्नुपर्ने, पीडित परिवारलाई १० लाख रुपैयाँं उपलब्ध गराउनुपर्ने, बलात्कार गर्नेलाई फाँसीको सजायको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर प्रदर्शन गरिएको हो ।
यही फागुन ८ गते सांँझ बेपत्ता भएकी सात वर्षिया बालिका पूजा ९ गते बिहान मकसुद अन्सारीको घर पछाडिको झाडीमा अचेत अवस्थामा फेला परेकी थिइन् ।
दुई साता लामो उपचारकै क्रममा उनको काठमाडौंको कान्ति बाल अस्पतालमा मृत्यु भएको थियो ।

बालिका बलात्कार गर्ने कलैया नगरपालिका वडा नम्बर ४ का कन्हाई गुप्ता जिल्ला प्रहरी कार्यालय कलैयाको हिरासतमा छन् । इमेजखबरमा समाचार छ ।