एमाओवादीका टोप बहादुर रायमाझीद्धारा सहमति भाँड्ने काम सत्ता पक्षका नेताहरुले नै गरेको आरोप

काठमाडौं  । सत्ता पक्ष र विपक्षी ३० दलीय मोर्चाबीच वार्ता चलिरहेकै बेलामा एमाओवादीका नेता टोप बहादुर रायमाझीले सहमति भाँड्ने काम सत्ता पक्षका नेताहरुले नै गरेको आरोप लगाएका छन् ।
राजधानीमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै रायमाझीले प्रतिपक्ष हदैसम्मको लचिलो बनेको तर सुदुर पश्चिमका पाँच वटा जिल्लामा कांग्रेस र एमालेका नेताहरुको अडानका कारण सहमति हुन नसकेको दावी गरे ।
उनले संविधान निर्माणमा ढिलाई प्रतिपक्षबाट नभई सत्ता पक्षबाट नै ढिलाई भइरहेको आरोप लगाए ।
नेपाली कांग्रेसका नेता रमेश लेखकले सुदुर पश्चिममा एउटै प्रदेश बनाउने विषयमा माओवादी सरकारको पालामा नै सहमति भैसकेकोले त्यसमा विवाद गरिरहनु नपर्ने जिकिर गरे ।
उनले पहिले भएको सहमतिअनुरुप विबाद सल्ट्याउन जनमत संग्रहमै जान पनि प्रतिपक्षीहरुलाई आग्रह गरे ।
कार्यक्रममा एमाले नेता शंकर पोखरेलले एमाले र कांग्रेसले ल्याएको नौं बुँदे प्रस्तावलाई विस्थापन गर्न नसकिनेमा जोड दिँदै बरु त्यसैमा माओवादी र मधेशवादी दलको अपनत्व खोज्ने गरी विकल्प खोज्न सकिने बताए ।
तराई मधेश लोकतान्त्रिक फोरमका नेता अनिल झाले भूमी सुधार लागु हुनुभन्दा अघिको लालपूर्जाको आधारमा गरिने जनमत संग्रह मात्र आफूहरुलाई मान्य हुने बताए । इमेजखबरमा समाचार छ ।