संसदको सार्वजनिक लेखा समितिको बैठक झण्डै दुई महिनापछि बस्यो

काठमाडौं  । गत माघ ५ गते राति संसदमा तोडफोड भएपछि बस्न नसकेको संसदको सार्वजनिक लेखा समितिको बैठक झण्डै दुई महिनापछि आज बसेको छ ।
समितिका सभापति एवं एमाओवादी नेता जनार्दन शर्मा नै तोडफोडमा उत्रिएपछि समितिको बैठक बस्न सकेको थिएन ।
सत्तारुढ दलहरुले सहमतिको साटो प्रक्रियामा संविधान लेखनको काम अघि बढाएको भन्दै एमाओवादीलगायत विपक्षी मोर्चाले समितिका बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो ।
तर पछि शीर्ष नेताहरुबीच असहमतिका विषयमा छलफलबाटै समाधान खोज्ने सहमति भएपछि विपक्षी दलहरु समितिको बैठकमा सहभागी भएका थिए ।
समितिको कार्यालय सिंहदबारमा बसेको बैठकले बेरुजु फस्र्यौटका विषयमा चैत्र ३ गतेदेखि समितिमा छलफल गर्ने निर्णय गरेको छ ।
बैठकमा सभासद् रामहरि खतिवडाले नागरिक उड्डयन प्राधीकरण नौं वर्षअघि गरिएको सहमतिभन्दा १ अर्ब २५ करोड रुपैयाँ महँगोमा जहाज किन्न लागेकोमा प्रक्रिया रोकेर सम्बन्धित मन्त्रालयसँग जानकारी लिन माग गरे ।
यस्तै सभासद् तप्तबहादुर विष्टले सुर्खेत जिल्लामा सुनखानी संचालनका लागि खानी तथा भूगर्भ विभागले हचुवाको भरमा अनुमति दिएको आरोप लगाए ।
उनले आवश्यक तयारी विना खानी संचालन गरिए स्थानीय वासिन्दा विस्थापित हुने भएकाले तत्काल उक्त कार्य रोक्न माग गरे ।
समितिका अरु सदस्यले बेलैमा रकम निकासा नहुँदा विकासका कामहरु रोकिएकामा प्रभावकारी कदम चाल्न समिति सभापतिसँग आग्रह गरे । इमेजखबरमा समाचार छ ।