जथाभावी गर्भ तुहाउन चक्की खाँदा महिलाको स्वास्थ्य जोखिममा

जाजरकोट – गर्भ तुहाउन मिजोपि्रस्टोल चक्की खाँदा गत वर्ष पैंक २ की ३२ वर्षीय मैसरा शाहको उच्च रक्तस्रावले मृत्यु भयो । केही दिनअघि उक्त चक्की प्रयोग गरेका पैंक १ की ३० वर्षीय पुतली शाही, ३० वर्षीय वसन्ता सिंह र ४० वर्षीय तुलसा सिंहको ज्यान जोगाउन धौधौ भयो । शाहीको जिल्ला अस्पताल जाजरकोट र वसन्ताको चौरजहारी अस्पतालका डाक्टरले मुस्किलले ज्यान जोगाए । 
कान्तिपुर दैनिकमा समाचार छ । तुलसाको भेरी अञ्चल अस्पताल नेपालगन्जमा सातादेखि उपचार भइरहेको छ । उनको रक्तस्रावले शरीरमा २ पिन्ट मात्र रगत थियो । बी नेगेटिभ रगत समूहकी उनलाई ७ पिन्ट रगत चढाउनुपर्‍यो । तुलसाको अवस्था सुधारोन्मुख रहेको छ । गर्भपतन गराउने औषधिको जथाभावी सेवनबाट महिलाको ज्यान जोखिममा छ । निजी मेडिकल सञ्चालकले गैरकानुनी रूपमा गर्भ तुहाउन महिलालाई मिजोपि्रस्टोल र मिफेपि्रस्टोन चक्की जथाभावी खुवाउँदा उनीहरूको स्वास्थ्य जोखिममा पर्ने गरेको हो । निजी मेडिकल सञ्चालकसँग महँगो मूल्यमा उक्त चक्की किनेर खाने महिलाको स्वास्थ्य जोखिममा परेको हो । उनीहरू घरमै मात्रा नमिलाएर गर्भपतनको औषधि खान्छन् । जसका कारण लामो समयसम्म रक्तस्राव हुन्छ । कतिको पाठेघर फुटेर मृत्युसमेत हुन्छ । कति अन्तिम अवस्था अर्थात् शरीरको रगत सकिएपछि अस्पतालमा आउने गरेको डा. विभान्त साहले बताए । ‘औषधिको मात्रा नमिल्दा, चिकित्सकको निगरानी नहुँदा, सालनाल र मरेको बच्चा पाठेघरबाट ननिस्कँदा रक्तस्राव हुन्छ,’ उनले भने । 
 सुरक्षित गर्भपतनसम्बन्धी तालिम लिएका स्वास्थ्यकर्मीबाहेक विशेषज्ञ चिकित्सकले पनि यो चक्की खुवाउन मिल्दैन । त्यो पनि १२ सातासम्मको गर्भपतन गर्न यो चक्की खुवाउन मिल्छ । तर यस जिल्लामा जो कोहीले पनि गैरकानुनी तवरले औषधिको बेचबिखन गर्दै आएको साहले बताए । १७ हप्तासम्मकोलाई खुवाएको पाइएको छ । परिवार नियोजनका साधनको प्रयोग गर्न मान्दैनन् । कतिले अवैध गर्भधारण गर्छन् । ‘जसको फाइदा मेडिकलवालाले उठाएका छन्,’ साहले भने । एउटा गर्भपतनका लागि ५ हजारसम्म लिने गर्छन् । 
गर्भपतनको चक्की खाएर उच्च रक्तस्राव भई अस्पताल आउनेको संख्या मासिक करिब १२ जना रहेको साहले बताए । ‘यस्तै कारण चौरजहारी र नेपालगन्जतर्फ जाने पनि उत्तिकै छन्,’ उनले भने । अवैध रूपमा सञ्चालित मेडिकलमा प्रतिबन्ध लगाउन नसक्दा यस्तो भएको हो । त्यस्ता मेडिकलले गर्भपतन गराउने औषधि बिक्री गर्दा पनि कसैले कारबाही गर्दैनन् । जिल्लाका विभिन्न ग्रामीण बस्तीमा टोलैपिच्छे गैरकानुनी रूपमा मेडिकल सञ्चालनमा छन् तर कसैले यसतर्फ ध्यान नदिएको स्थानीय जानुका मल्लले बताइन् । कान्तिपुर दैनिकमा समाचार छ ।